|

गुल्मी : राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले हालसम्म भएका काम सार्वजनिक गरेको छ। समितिले सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी हालसम्म भएका प्रगति सार्वजनिक गरेको हो।

जिल्ला अध्यक्ष राममल्ल ठकुरीले हालसम्म जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुमवासी, अव्यवस्थित बसोबासी र अधुरा अपूरा कामको लगत संकलन भएको जानकारी दिए। हालसम्म जिल्लामा भूमिहीन दलित २७६ जना, सुकुमवासी २३१ जना, अव्यवस्थित बसोबासी १ हजार ५६६ जना गरी कुल दुई हजार ७३ जना रहेका छन्। यस्तै काम सम्पन्न गर्न बाँकी ७३४ फाइल रहेको मल्लले बताए।  

७३४ जनामध्ये २३० लाभग्राहीको निवेदन प्राप्त भएको र प्राप्त निवेदन छानबिन गरी नापी कार्यालयबाट नक्सा प्रमाणित गर्ने, मालपोत कार्यालयमार्फत स्रेस्ता कायम गरी भदौ मसान्तसम्म सम्पन्न गर्ने गरी समितिले काम गर्ने कार्यतालिका रहेको मल्लले सुनाए। 

लाभग्राहीले निवेदन दिन छुटेको भए दोस्रोपटक प्रकाशित सूचना अनुसार साउन ३१ देखि लागू हुने गरी ३५ दिनभित्र निवेदन दिन सकिने जिल्ला समिति गुल्मीका सदस्य सीता बरालले जानकारी दिइन्।

यस्तै गरी रुरुक्षेत्र गापाबाट १८५ जनाको प्राप्त विवरणअनुसार जिल्ला समितिले तीनपुस्ते पारिवारिक विवरणसहित जग्गा पहिचानका लागि मालपोत कार्यालयमा पठाइएको छ। जग्गा पहिचानपछि जग्गा नापजाँचका लागि सूचना प्रकाशन गरी प्राविधिकहरूर्फत काम अगाडि बढाइनेछ। त्यसपछि दाबी विरोधको सूचना प्रकाशन गरी निस्सा प्रदान गर्ने र लालपुर्जा वितरण गर्ने मल्लले बताए।

यसैगरी अन्य स्थानीय तहबाट प्राप्त विवरणलाई पनि सोही प्रक्रियामार्फत अगाडि बढाइने कार्यालयले जनाएको छ।

जिल्ला समिति गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहसँग समस्या समाधानका लागिअन्तरसंवाद गरेको थियो भने सरोकारवालाहरुसँग पनि बैठक बसेको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.