|

दाङ : पछिल्लो समय दाङमा प्राविधिक शिक्षाको महत्त्व बढ्दो छ। शुरुमा केही विद्यालयमा प्राविधिक शिक्षा पढाइ हुँदा विद्यार्थीलाई भर्ना पाउन समस्या हुन्थ्यो।

जिल्लाका मात्र नभई बाहिरबाट पनि विद्यार्थीहरू पढ्न आउने विद्यार्थी भर्ना गर्न भनसुन गर्नुपर्ने अवस्था हुन्थ्यो। पछिल्लो समय जिल्लामा प्रायः सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा पढाइ हुन थालेपछि अहिले केही विद्यालयमा बाहेक धेरैमा विद्यार्थीहरू नहुँदा बन्द गर्नु पर्ने अवस्थामा पुगेका छ।
तुलसीपुर उपमहानगरपालिकामा पछिल्लो समय  ९ वटा सामुदायिक विद्यालयबाट प्राविधिक शिक्षा पढाइ भइरहेको छ। विद्यार्थीहरू माझ प्राविधिक शिक्षा तर्फ आकर्षण बढिरहेको भएयता पनि एउटै विषय पढाइ केही विद्यालयमा भएपनि केही विद्यालयलाई फाइदा भएको छ, भने केही बन्द हुने अवस्थामा पुगेका छन्।

 शुरुमा तुलसीपुर उपमहानगरले केही सहयोग गरेको भएयता पनि पछि आफैले कलेज सञ्चालन गरेपछि वेवास्ता गरेको विद्यालयहरूको भनाइ छ।

तुलसीपुर  १८  बिजौरीमा रहेको जनता संस्कृत माध्यमिक विद्यालय शुरुमा ३ वर्ष अगाडि कृषिमा प्राविधिक शिक्षा शुरु गरेको थियो। तुलसीपुर उपमहानगरको १० लाखको सहयोगमा शुरु गरेको शिक्षा अहिले बन्द हुने अवस्थामा रहेको विद्यालयका प्रधानाध्यापक पदम बहादुर रावतले बताए।

उनले विगत ३ वर्षदेखि प्राविधिक क्षेत्रमा कृषि पढाइरहेको भन्दै अहिले एक जना विद्यार्थीहरू भर्ना नभएको बताए। उनले भने,‘ शुरुमा हामीले नै प्राविधिक शिक्षा शुरु गरेका थियौँ। उपमहानगरले पनि सहयोग गरेको थियो। तर, अहिले हामीले पढाइरहेको विषय तुलसीपुर भित्र  रहेको अन्य विद्यालयहरूले पढाउने र यहाँको भन्दा कम शुल्क लाग्ने भएकाले पनि विगत गत आर्थिक वर्ष र अहिले एक जना विद्यार्थी भर्ना भएका छैन्। यस्तै, रहेमा बन्द हुने अवस्थामा पुगेको छ।'

उनका अनुसार आफूहरूले पढाउँदै आएको विषयलाई उपमहानगरले तुलसीपुर ४ रक्षाचौरमा रहेको गुरु जजुर मावि, तुलसीपुर मेट्रो कलेजलाई पढाउनको लागि सिफारिस दियो। जसले गर्दा हामीलाई त्यो वर्ष पनि विद्यार्थी आएनन्। उनले मेट्रो कलेजमा शुल्क पनि कम लाग्ने र तुलसीपुरका १९ वटै वडाहरूले  प्रत्येक वडाबाट ५ जना विद्यार्थीहरूलाई छात्रवृत्तिको लागि विद्यार्थीहरू पढाइदिने गर्दा पनि आफू कहाँ विद्यार्थी नभएको बताए।

उनले भने,‘ पहिला शुरु गर्दा दाङबाट मात्र  नभई जुम्लाबाट समेत विद्यार्थीहरू पढ्न आएका थिए। अहिले तुलसीपुरमा एउटै विषयको पढाइ धेरै हुँदा समस्या भएको हो। त्यसमा पनि उपमहानगरले आफै कलेज सञ्चालन गरेर सस्तोमा पढाउँदा यहाँ पढिरहेका विद्यार्थीहरू समेत पढ्न मान्दैन। हामी कहाँ  सवा २ लाख  ३ वर्षको शुल्क रहेको छ। तर, मेट्रोमा ७०-८० हजारमा पढाइ हुन्छ।  ’

उपमहानगरले हामीलाई पछाडिबाट छुरा हान्यो
प्रधानाध्यापक रावतका अनुसार शुरुमा प्राविधिक शिक्षा सञ्चालन गर्नको लागि उपमहानगरले १० लाख सहयोग गरेको  भएयता पनि पछि अन्य विद्यालयहरूमा यही विषय पढाउन दिनु र आफै सञ्चालन गरेको कलेजमा पनि यही पढाएर आफूहरूलाई अन्याय हो।

उनले भने,‘अन्य विद्यालयमा पनि यही विषयमा अनुमति दिने र हामीलाई पनि सञ्चालन गर्ने लगाउने। अहिले बाहिर जिल्लाका विद्यार्थीहरू आउँदैन। त्यहाँको स्थानीय सरकारले त्यही प्राविधिक शिक्षा पढाउने व्यवस्था गरेको छ। यहाँ आउने भनेको तुलसीपुरका विद्यार्थीहरू हुन। धेरै विद्यालयमा एउटै विषय पढाइ हुने र त्यसमा पनि कम शुल्कमा गर्दा उनीहरु उतै जान्छन्। विद्यार्थी नै नभएपछि कसरी सञ्चालन गर्न सकिन्छ ?’
 
प्राविधिक  पढाइमा राजनीति भयो

उनले आफूहरूले पढाइ रहेको विषय अरु विद्यालयमा सञ्चालन गर्न सिफारिस दिएको भएयता पनि केही पहुँच भएका विद्यालयमा भने उनीहरूले  पढाउँदै आएको विषय अर्को विद्यालयमा चलाउन नदिएको पनि आरोप लगाए। उनले मावि सेन्टर, अमर मावि उरहरी,  जनकल्याण मावि दुधरास, र तुलसीपुर मेट्रो कलेजले सञ्चालन गर्दै आएका विषयहरू यि विद्यालयहरूमा  नजुधाउने र आफूहरूले  सञ्चालन गरेको विषयहरू अरु विद्यालयमा जुधाउँदा आफूहरूलाई उपमहानगर सौतेनी व्यवहार गरेको पनि बताए।

उनले भने,‘ जसको पावर, पहुँच छ, ति विद्यालयमा विषयहरू फरक फरक रहेका छन्। तर, हामीहरूको पहुँच र पावर नहुँदा हामीलाई हेर्ने दृष्टिकोण फरक देखियो। अगाडिबाट हामीलाई गर, भन्ने तर, पछाडिबाट छुरा हानेको जस्तो भयो।’

जनता  संस्कृत मावि मात्र नभइ तुलसीपुर १८ मा रहेको जनकल्याण माविको पनि अवस्था उस्तै रहेको छ। २०७५ साउनदेखि सिभिल इन्जिनियर पढाउँदै आएको छ। यही विषय तुलसीपुर १७ मा रहेको शहीद स्मृतिले पनि पढाउँदै आएको छ। जसले गर्दा अहिले ८ जनाले मात्र फारम भरेका विद्यालयका  प्रधानाध्यापक हिम बहादुर भण्डारीले बताए।  शुरुको वर्षमा ३२ जना मात्र विद्यार्थीहरू भर्ना भएको भन्दै उनले अहिले ८ जनाले मात्र फारम भरेको र तिनीहरू पनि आउने निश्चित नभएको उल्लेख गरे। उनले भने,‘ हामीले ४० जना र सिटिइभिटीले  ४ जना गरी ४४ जनासम्म पढाउन पाइन्छ। तर, अहिले ८ जनाले मात्र  फारम भरेका छन्। उनीहरु पनि आउँछन् वा आउँदैन त्यो टुंगो छैन्। भर्ना अभियान ९ गतेसम्म मात्र हो। यस्तै, अवस्था आएका प्राविधिक शिक्षा पढाउन समस्या हुन्छ। शिक्षकहरूलाई तलब कसरी खुवाउने र कसरी पढाउने ?’

यस्तै, उनले  विद्यालयलाई स्थानीय सरकारले सहयोग नगरेको पनि गुनासो गरे। उनले आफूहरूले पढाउँदै आएको विषय तुलसीपुर १७ मा रहेको शहीद स्मृतिमा, मावि अश्वारामा पनि पढाइ भइरहेको हुँदा विद्यार्थीहरू घट्दै गएको बताए।

उनले पनि उपमहानगर भित्र पढाइ भइरहेका विषयहरू एकअर्का विद्यालयमा जुधाउन नहुने भन्दै त्यसले गर्दा प्राविधिक शिक्षा विद्यार्थीहरू नआउँदा बन्द हुने अवस्थामा पुगेको बताए।
उनले भने,‘ यस पटक पनि विद्यार्थीहरू आएका छैनन्। अब यस्तै, अवस्था रहेका कसरी पढाउन सकिन्छ। शिक्षकहरूलाई कसरी तलब दिने एक त शुरु देखि नै विद्यार्थीहरू सिट सङ्ख्या जति नभएपनि पढाउँदै आएका छौँ। त्यसैले उपमहानगरले सिफारिस दिँदा कुन विद्यालयमा  के पढाइ भइरहेको छ, भन्ने कुरामा ध्यान दिनु पर्ने हो। प्राविधिक शिक्षा पढाउनको लागि सिफारिस मात्र दिएर हुँदैन। विद्यार्थीहरू नै नआएपछि कसरी सञ्चालन हुन्छ?’
उनले शुरुमा विद्यालयलाई प्राविधिक कक्षा सञ्चालन गर्नको लागि उपमहानगरले सहयोग गरेको भएयता पनि त्यसपछि भने कुनै सहयोग नगरेको बताए।

 उनले सहयोग भन्दा पनि वडाबाट निःशुल्क पढाइ दिनको लागि सिफारिस आउने गरेको बताए। उनले भने,‘ हामीलाई निःशुल्क पढाउनको लागि सिफारिस आउँछ। तर, वडा कार्यालयहरूले भने  ५ जना विद्यार्थीहरूलाई मेट्रो कलेजमा पढाउनका लागि खर्च दिँदै आएका छन्। न हामीसँग प्राप्त विद्यार्थी छन्, न हामीलाई सहयोग हुन्छ। सहयोग अर्कै विद्यालयलाई हुने हामीलाई निःशुल्क पढाउन सिफारिस दिने। हामीले कसरी पढाउन सक्छौँ।’  उनले ३ वर्ष पढाइको लागि एक लाख ८० हजार शुल्क रहेको पनि बताए।
मावि सेन्टर तुलसीपुरमा फाइदा
जनकल्याण  मावि र जनता संस्कृत विद्यालयमा विद्यार्थीहरू नपाएर बन्द हुने अवस्थामा पुगेको भएयता पनि तुलसीपुर ६ मा रहेको मावि सेन्टर तुलसीपुरमा भन्दा विद्यार्थीहरू भर्ना हुन धेरै आएका छन्। गत वर्ष मात्र विद्यालयले ७० लाख आम्दानी गरेको जनाएको छ। सर्वसुलभ र गुणस्तरीय शिक्षामा ध्यान दिएपछि  विद्यार्थीहरू पढ्न आउने गरेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताए।

उनले आफ्नो विद्यालयमा पढाइ भइरहेको विषय उपमहानगरका अन्य विद्यालयमा पढाइ  नभएको पनि प्रस्ट पारे। उनले भने,‘ तुलसीपुर मेट्रो कलेजमा सञ्चालन भएको विषयहरू र हामी कहाँ पढाइ भइरहेको विषय मिल्दैन। यो समय भनेको प्रतिस्पर्धाको  हो।  शिक्षामा गुणस्तर, व्यवस्थापन राम्रो जसले गर्छ , विद्यार्थीहरू पढ्न त्यही आउने हुन्।  प्राविधिक  शिक्षा धेरै विद्यालयमा सञ्चालन भएको छ। जसले राम्रो गर्न सक्दैन। ति बन्द हुन पनि सक्छन्।’

मावि सेन्टरले २०७३ सालदेखि कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा पढाउँदै आएको भन्दै उनले सिटिइभिटीले ३ वर्षको लागि इन्जिनियरिङ तर्फको शुल्क १ लाख ९० हजार तोकिएको भएयता पनि आफूहरूले साढे एक लाखमा पढाउँदै आएको बताए।

उनका अनुसार गत वर्ष आईटी तर्फ ७० लाखको आम्दानी भएकोमा ३० लाख खर्च भएर ४० लाखको आम्दानी भएको थियो।  उनले यस आर्थिक वर्षदेखि जिओ मेट्रिक्स सञ्चालन गर्न लागेको र त्यस लागि ५० लाखको ल्याब किन्ने पनि बताए। उनले गत आर्थिक वर्ष आम्दानी राम्रो भएपनि अब एक लाख देखि एक लाख २५ हजार सम्ममा ३ वर्षको कोर्ष पढाउने योजना रहेको पनि सुनाए।

विद्यालयमा ३ वटा विषयमा प्राविधिक पढाइ भइरहेको पनि उनले बताए। कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङ, एसइई पछि आईटीमा ३ वर्षीय डिप्लोमा र जिओ सर्व इन्जिनियरिङ पढाइ भइरहेको उनको भनाइ छ। उनले भने,‘ हाम्रो विद्यालयमा प्राविधिक विषय तर्फका लागि ४८ जनाको सिट रहेको छ। तर,  अहिले आईटी मा ६० जना भर्ना हुनको लागि आएका छन्। तर, हामीसँग ४४ जना विद्यालयले र ४ जना सिटिइभिटीले  पठाउने व्यवस्था रहेको छ। हाम्रो विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढिरहेको छ। ’

मेट्रो कलेज पनि विद्यार्थीको रोजाइ
तुलसीपुर १२ मा रहेको तुलसीपुर मेट्रो कलेजमा पनि अहिले ५ विषमा प्राविधिक शिक्षा पढाइरहेको छ, भने अरु पनि थप्न लागेको छ।  कलेजले हरेक विषयलाई परियोजनासँग जोडेर लैजाने र अन्य विद्यालयको भन्दा कम खर्च लाग्ने भएकाले विद्यार्थीहरूको रोजाइ भएको कलेजको भनाइ छ। २०७५ सालमा तुलसीपुर उपमहानगरले सञ्चालन गरेको कलेजमा अन्य विद्यालयको भन्दा शुल्क कम र उपमहानगरले सामुदायिक विद्यालयबाट एसइई गरेका छात्राहरूलाई छात्रवृत्तिमा निःशुल्क पढाउने भएकाले पनि विद्यार्थीहरू बढिरहेको कलेजका प्रमुख बसन्त आचार्यले बताए।  

उनले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्र बनाउन उपमहानगरले यो कलेज सञ्चालनमा ल्याएको भन्दै   डिप्लोमा तहका ५ वटा विषयमा र छोटो अवधिका तालिम भइरहेको कलेज पनि बताए।  अहिले डिप्लोमा तहका ५ वटा विषयमा डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलजी, डिप्लोमा इन फरेस्ट्री र डिप्लोमा इन प्लान्ट साइन्स रहेको उनले बताए।  प्रि–डिप्लोमा तहमा आईटी पनि सञ्चालन गरिरहेको उनको भनाइ थियो। उनका अनुसार कलेजले विभिन्न खालका छात्रवृत्ति योजनाहरू ल्याएको र सबै विषयहरू ३ वर्षीय रहेको छ। त्यो पूरा गर्न जम्मा साढे १ लाख लाग्छ। तुलसीपुर उपमहानगर भन्दा बाहिरका विद्यार्थी कलेजमा पढ्न आए छुट दिएर ३ वर्षमा जम्मा १ लाख  २५ हजार शुल्क लाग्ने पनि उनले बताए।

यस्तै, कलेजमा पढाइ भइरहेका विषयहरू पढ्न चाहने विद्यार्थीहरूलाई भने १ लाख मात्र खर्च लाग्ने उनले बताए। उनले उपमहानगरभित्र सामुदायिक विद्यालयबाट एसइई दिएका छात्राहरूलाई कलेजले निःशुल्क पढाउने छात्रवृत्ति रहेको पनि बताए। उनले भने, ‘उपमहानगरभित्र सामुदायिक विद्यालयबाट एसइई दिएका छात्राहरू कलेजमा पढ्न आए उनीहरूले निःशुल्क पढ्न पाउँछन्। कलेज स्थापना भएदेखि अहिलेसम्म करिब एक सय जना छात्राहरूले ३ वर्षसम्म आफूले रोजेको विषय निःशुल्क पढ्न पाएका छन्।’
उनले सिटिइभिटीले प्रदान गर्ने पूर्ण छात्रवृत्तिलाई पनि कलेजले निरन्तरता दिँदै आएको छ। उनले निम्न वर्गका विद्यार्थीहरूलाई वडा कार्यालयले उनीहरूको खर्च बेहोर्ने गरी सहजीकरण गरेर विभिन्न वडाका विद्यार्थीहरूलाई पढाउँदै आएको पनि बताए। कलेजमा अहिले तुलसीपुरका मात्र नभइ दाङ  र अन्य जिल्लाका विद्यार्थीहरू पढ्न आइरहेको उनको भनाइ थियो।

यस्तै, उनले यसै शैक्षिक सत्रदेखि  प्रि डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ, फार्मेसी र ए एचए कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको पनि बताए।  

तुलसीपुरका ९ विद्यालयमा प्राविधिक शिक्षा, कुनै विभेद गरेका छैनौँ :  शिक्षा शाखा
तुलसीपुरमा उपमहानगरमा ९  वटा विद्यालयले प्राविधिक विषय पढाउँदै आएका छन्। कुनै विद्यालयमा पढाइ भइरहेको विषयलाई अर्को विद्यालयको लागि सिफारिस नदिएको र सिटिइभिटीले दिने गरेको उपमहानगरको शिक्षा शाखाको भनाइ छ। यस्तै, उपमहानगरले कुनै पनि विद्यालयलाई विभेद नगरेको शाखा प्रमुख चक्र बहादुर भण्डारीले बताए।  
उनले अहिलेको समय सूचना प्रविधिको युगमा रहेको भन्दै जुन विद्यालयले गुणस्तरीय शिक्षा, प्रचार प्रसार गर्छ, त्यहीमा नै विद्यार्थीहरू जाने भएकाले सबैले त्यसमा ध्यान दिनु पर्ने बताए। उनले भने,‘ प्राविधिक शिक्षा सञ्चालन गरे मात्र हुँदैन। पछिल्लो समय प्रतिस्पर्धाको समय पनि हो। त्यसैले विद्यालयहरूले नै यसमा ध्यान दिनु पर्छ। हामीले कुनै पनि विद्यालयमा एउटा विषय पढाइ भइरहेको छ, भने  अर्को  विद्यालयलाई त्यही विषय पढाउनको लागि सिफारिस दिएका छैनौँ। तर, सिटिइभिटीले सिधै दिने गरेको छ।’

उनले प्राविधिक  शिक्षा पढाइ रहेका विद्यालयहरूलाई तुलसीपुर उपमहानगरले बहुवर्षीय कार्यक्रम ल्याएर उपमहानगर भित्रका सामुदायिक विद्यालयमा पढेका छोरीहरूलाई जुनसुकै विद्यालयमा पढाउने सक्ने व्यवस्था मिलाएको र ३ वर्षको लागि एक लाख दिने व्यवस्था गरेको बताए।  उनले भने,‘ प्राविधिक पढाइ भइरहेका विद्यालयहरूले राम्रो प्रचार प्रसार गर्नु पर्ने हुन्छ। विद्यार्थीहरू आफै आउँछन्, भनेर बसेर हुँदैन। जसले गर्दा विद्यार्थीहरू अभाव होलान्, जस्तो मलाई लाग्दैन। हामीले कसैलाई विभेद गरेका छैनौ। हामीले सबैलाई समान व्यवहार गरेका छौँ।’

उनले शुरुमा प्राविधिक शिक्षा सञ्चालन गर्नको लागि विद्यालयहरूलाई १० लाख सहयोग गरेको भन्दै उपमहानगरले सञ्चालन गरेको मेट्रो  कलेजलाई छुट्टै केही सहयोग नगरेको पनि उल्लेख गरे। उनले भने,‘ मेट्रोले अन्य विद्यालयहरू भन्दा सिटिइभिटीबाट समन्वय गरेर छोटो समयको अवधिका तालिमहरू समेत दिएको छ। उसले आफूले गरेका क्रियाकलापहरूको धेरै प्रचार प्रसार गरेको छ। त्यसले गर्दा पनि विद्यार्थीहरू त्यहाँ पढ्न गएका हुन सक्छन्। हाम्रो अन्य प्राविधिक पढाइरहेका विद्यालय र मेट्रोलाई हेर्ने दृष्टिकोण फरक छैन्। तर, स्थापना कालमा हामीले अलि धेरै सहयोग गरेको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.