|

सल्यान : सल्यानमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ। विद्यालयमा विद्यार्थी विरामी भए वा चोटपटक लागेमा वा जटिल स्वास्थ्य समस्या देखिए तुरुन्त ठूलो स्वास्थ्य संस्थामा लैजान सहजताका लागि नेपाल सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेको छ।

विद्यालयमा नियमित खटिने नर्सले प्राथमिक उपचारको सामग्री तथा औषधि सहित सेवा दिन थालेपछि सबैभन्दा बढी छात्रा लाभान्वित भएका छन्। विद्यालयमा नै रजस्वला हुँदा कक्षा छोड्नुपर्ने तथा एक दुई दिन विद्यालय छोड्नुपर्ने बाध्यताबाट अहिले छात्राले मुक्ति पाएका छन्। महिनावारी हुँदा आफ्नो समस्या शिक्षकसँग राख्न नसक्ने छात्राहरू विद्यालयमा कार्यरत स्वास्थ्यकर्मीसँग निर्धक्क राख्न थालेका छन्।

एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनपछि आफूहरूलाई निकै सहज महसुस भएको शिव मावि शारदा नपा–१२ मूलडाँडामा कक्षा १० मा अध्ययनरत छात्रा देविका भण्डारीले बताइन्। उनले भने, ‘अहिले निःशुल्क सेनेटरी प्याड र प्राथमिक उपचार पाउँदा सहज भएको छ।’

महेन्द्ररत्न मावि शारदा नपा–५ पिपलनेटामा कक्षा ८ मा अध्ययनरत मोनिका महर्जनले विद्यालय नर्स कार्यक्रम लागू भएपछि धेरै कुरामा सहज भएको बताइन्। उनले भने, ‘व्यक्तिगत सरसफाइ, पोषण, किशोरावस्थामा आउने परिवर्तन लगायतका विषयमा जानकारी प्राप्त गरेका छौँ।’

शिव माविमा कार्यरत स्कुल नर्स प्रेरणा घर्ती विगतमा महिनावारीकै कारण धेरै दिन पढाइ छुटाउनुपर्ने बाध्यता भए पनि अहिले विद्यालयमा अध्ययन गर्ने छात्रा नियमित आउने गरेको बताइन्। विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सरसफाइ, विभिन्न रोगको बारेमा स्वास्थ्य शिक्षा प्रदान गर्नुका साथै उनीहरुमा देखिने विभिन्न रोगको प्राथमिक उपचार गरिँदै आएको उनको भनाइ छ।

उनले विद्यार्थीहरुलाई मनोपरामर्श समेत गरिने बताइन्। उनले कार्यक्रम लागू भएपछि सेनेटरी प्याड प्रयोग गर्ने छात्राको सख्या बढ्नुका साथै आफ्ना समस्या भन्न सक्ने भएको बताइन्। महेन्द्ररत्न माविका प्रधानाध्यापक प्रकाश हमालले स्कुल नर्स कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताइन्। उनले कार्यक्रम लागू हुनुअघि आफूमा आएको समस्या भन्न लजाउने विद्यार्थीहरु कार्यक्रम शुरु भएपछि निर्धक्क भन्न सक्ने भएको बताइन्। 

स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले प्रत्येक बालबालिकाको स्वास्थ्य रेखदेखका लागि सल्यानको शारदा नपा भित्रका १० माध्यमिक विद्यालयका यो कार्यक्रम सञ्चालन भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.