|

म्याग्दी : मुख्य सडकबाट अव्यवस्थित रूपमा टोलटोलमा सडक पुर्‍याउने होडबाजीले गर्दा म्याग्दीका ग्रामीण र बजार क्षेत्रमा भू–क्षय र प्राकृतिक विपत्तिका घटना बढ्दै गएको छ।

गत साउन १६ गते पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा पहिरोमा परेर एकै परिवारका पाँचजनाको मृत्यु भयो।

गाउँमाथि र तलबाट खनिएको सडकका कारण पहिरो गएको प्रारम्भिक अध्ययनले देखायो। रुममा मात्रै होइन म्याग्दीका अधिका‌ंश पहिरो, भू–क्षय र प्राकृतिक विपत्तिको कारण अव्यवस्थित रूपमा खनिएका टोले सडक नै हुने गरेका भू–संरक्षण कार्यालयको तथ्यांक छ।

प्राकृतिक वातावणीय प्रभाव मूल्यांकनविना नै जथाभावी रूपमा ग्रामीण सडक निर्माण गर्ने कार्य तीव्र रूपमा सञ्चालन गरिएका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा भूक्षय हुँदा पहिरो र विनाश बढ्दै गएको वातावरण संरक्षण अभियानमा लागेकाहरूले बताएका छन्।

सडक निर्माण र विकासको नाममा म्याग्दीको म्याग्दी नदी र कालीगण्डकी तटीय क्षेत्रबाट उठेका पहाडी क्षेत्रमा यहाँका स्थानीय तहहरुले दिएको बजेटबाट जथाभावी रूपमा सडक निर्माण गर्ने तर प्राकृतिक स्रोतहरुको दोहनजन्य क्रियाकलापलाई सम्बन्धित निकायले नियमन गर्न नसक्दा प्राकृतिक विपत्ति बढेको भू–संरक्षण नि.प्रमुख शम्भु मिश्रले बताए ।

जिल्लामा अहिले ग्रामीण सडक निर्माण, साइकलजोन, ट्रेकिङ मार्ग, अग्ला डाँडाहरुमा भ्यू टावर जस्ता योजना स्थानीय तहमा गठन भएका उपभोक्ता समूहले आफूखुशी रूपमा सञ्चालन गर्दा कालीगण्डकी र म्याग्दी नदीको तटीय क्षेत्रबाट उठेर उच्च हिमाली क्षेत्रसम्म फैलिएको यहाँको भूगोल दिनदिनै कमजोर हुनुको साथै  भू–क्षयका कारण भौगोलिक उचाइसमेत कमहुदै गएको पाइएको छ।

यहाँका क्षेत्रका पहाडहरुमा जथाभावी रूपमा स्काभेटर र डोजर सञ्चालन गरी भूक्षय गरिएपछि वर्षायाममा पहिरोको समस्या बढ्नुका साथै वातावरणीय असन्तुलनको समस्या उत्पन्न भएको वन र वातावरणका जानकार वन डिभिजन कार्यालय म्याग्दीका नि. प्रमुख चन्द्रमणि सापकोटाले बताए।

जिल्लाका उत्तरी र पश्चिमी क्षेत्रमा जलविद्युत् आयोजना लगायतका विभिन्न आयोजना  सञ्चालन गरिए पनि भूक्षय र दोहन नरोकिंदा त्यस आसपासका क्षेत्रको खेतीयोग्य जग्गा प्राकृतिक विपतिले बगरमा परिणत हुँदै जान थालेका छन्।

त्यसैगरी जथाभावी खनिएका सडक र अनियन्त्रित भू–स्खलनका कारण जिल्लाका पहाडी तथा हिमाली क्षेत्रमा पानीका प्राकृतिक स्रोत सुक्दै गएका छन् भने सिमसार क्षेत्रमा मूल फुट्न समेत छोडेका छन्।
पानीका मुहान सुक्दै जान थालेपछि पहाडी र हिमाली क्षेत्रका जनताको जनजीवन कष्टकर बन्दै गएको छ भने बसाइँ सरेका कारण कतिपय गाउँ नै खाली भएका छन्।

बाढी पहिरो र वातावरणीय क्षतिकै कारण परम्परागत मूल सुक्दा पिउने पानीका लागि विगतमा नामै नसुनेका लिफ्ट, बोरिङ, डिप ड्रिलिङजस्ता महँगो विकल्प रोज्नुपर्ने बाध्यतासमेत सिर्जना भएको स्थानीयले बताएका छन्।

नेपाल पानी सदुपयोग फाउन्डेसन (एनडब्लूसीएफ) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले तराई–मधेसबाहेक पहाड र हिमालका ३ सय पालिकामा गरेको अध्ययनले करिब ७४ प्रतिशत पालिकामा पानीका मूल सुक्ने र ५८ प्रतिशतमा मूल सर्ने घटना भएको देखाएको छ।

मुहान सुक्नुको प्रमुख कारणमध्ये अधिकांश नगरपालिकामा जथाभावी सडक र भवन निर्माण पाइएको छ। ५१ प्रतिशतमा मुहान सुक्नुमा जथाभावी सडक र भवन निर्माणको भूमिका उल्लेख गरिएको छ।  त्यसैगरी अन्य कारणमा जलवायु परिवर्तन ४५, भूकम्प ४६, वन फँडानी ३२ र बाढी पहिरो ३० प्रतिशत देखाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.