|

पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङको भ्याप्ले खोला नजिकै पहिरो झरेपछि पोखरा–बागलुङ सडक बुधवार रातीदेखि फेरि अवरुद्ध भएको छ।

मंगलबार साँझ झरेको पहिरो बुधवार बिहान पन्छाएपछि बुधबार मध्यान्हबाट सडक सञ्चालनमा आएको भए पनि वर्षा नरोकिँदा सोही ठाउँमा पहिरो झरेर सडक पुनः अवरुद्ध भएको हो।

 जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक ताराप्रकाश खत्रीका अनुसार मध्यपहाडी सडक आयोजनाकै जेसिबीको सहयोगमा झन्डै एक घण्टादेखि पहिरो पन्छाउने काम थालिएको छ। तर वर्षा नरोकिएको कारण पहिरो पन्छाउन असहज भइरहेको छ।

‘गएरातीदेखि नै सडक अवरुद्ध भइरहेको छ। हिजो बिहानभर मिहिनेतका साथ सडक खुलाए पनि रातीदेखि सडकमा गेगर र लेखो सहितको पहिरो झरेका कारण सडक खण्ड ठप्प भएको छ’, प्रहरी सहायक निरीक्षक खत्रीले भने, ‘पहिरो पन्छाउने काम त गरिरहेका छौँ। तर वर्षा नरोकिएका कारण फेरि पहिरो झर्ने जोखिम उस्तै छ। वर्षाकै बिचमा पहिरो पन्छाएर रोकिएका सवारीलाई गन्तव्यमा पठाउन प्रयास गरिरहेका छौँ।’

मध्यपहाडी लोकमार्ग अन्तर्गतको पोखरा–बागलुङ सडक साबिकका धौलागिरिका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ प्रवेश गर्ने नाका हो। उक्त खण्डमा अवरोध भएसँगै चार जिल्लाका लागि भित्रिन लागेका र त्यहाँबाट बाहिरिन लागेका सवारीहरू पर्वत सदरमुकाम कुश्मा बजार, अम्बोट, पातीचौर, डिमुवा लगायतका क्षेत्रमा रोकिएर बसिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.