|
फाइल फोटो

काठमाडौं : वरिष्ठ कलाकार हरिवंश आचार्यले सरकारले अब विद्युतीय सवारीसाधन बाहेकका सवारीसाधन आयात नै गर्न नपाउने नियम अवलम्वन गर्नुपर्ने बताएका छन्। 

शुक्रवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरुलाई तलव दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्युतीय सवारीको कर बढाइरहेको बताए। 

विद्युतीय सवारीसाधनको कर बढाउँदा आफूले विद्युतीय सवारी चढ्न नपाएको उनले गुनासो गरे। सरकारले विद्युतीय सवारीको कर बढाएकै कारण आफ्नो विद्युतीय सवारी किनेर चढ्ने सपना पूरा हुन नसकेको र घरमा पनि श्रीमतीले हरेक दिन सरकारले भन्सार घटाएन भन्ने प्रश्न गरिरहेको भन्दै व्यंग्य गरे। 

सरकारले विद्युतीय गाडीको भन्सार घटाइ डिजेल र पेट्रोलको खपतलाई कम गर्न आवश्यक रहेको बताए। देश विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन आवश्यक रहेको पनि उनको भनाई छ। सार्वजनिक यातायात पूर्णतया विद्युतीयकरण हुनसके मात्रै खर्बौं रकम विदेश जानबाट रोकिने उनले दाबी गरे।

फरक प्रसंगमा उनले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्दा अहिले नेपालले विद्युत व्यपार गरिरहेको र उनको काम प्रशंसायोग्य रहेको बताए। 

विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताए।

उनले नेकपा (माओवादी केन्द्र) ले काठमाडौंबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु भन्दै शुभकामना व्यक्त गरे। 

‘कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमा नै स्टाटस लेखेर राखेका थियौँ। त्यसमा यति धेरै फिडब्याक आयो, उहाँ जस्तो मानिस चाहिन्छ भनेर। राम्रो मान्छेलाई जसले पनि लैजान्छन्। लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले। उहाँलाई शुभकामना’ उनले भने। 

दशौं लाख युवाहरुलाई हामीले विदेशमा निर्यात गरेर आएको रेमिटेन्सबाट देशको अर्थतन्त्र अघि बढाउने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.