|

काठमाडौं : यतिवेला हलमा तीनवटा नेपाली फिल्म प्रदर्शनरत छन्। गत शुक्रबारदेखि प्रदर्शनमा आएका ‘झिँगे दाउ’ र ‘सम्हालिन्छ कहिले मन’ तथा भदौ १० देखि प्रदर्शनमा आएको ‘प्रकाश’ प्रदर्शनरत नेपाली फिल्म हुन्। 

लामो समयपछि हलमा एकसाथ 3 फिल्म प्रदर्शन हुँदा पनि दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ। बरु ठूलो बजेटमा बनेको भारतीय फिल्म ‘लाइगर’मा भने दर्शकको कमी देखिएको छ। ५० प्रतिशतभन्दा बढी शोका साथ प्रदर्शन थालेको फिल्म दोस्रो हप्तासम्म आइपुग्दा १० देखि २० प्रतिशत शोमा खुम्चिएको छ भने केही हलबाट फिल्म उत्रिसकेको छ। 

अधिकांश हलमा समान शोका साथ प्रदर्शन भइरहेका ‘झिँगे दाउ’, ‘सम्हालिन्छ कहिले मन’ र ‘प्रकाश’मा दर्शक पनि समान देखिएको छ। पारिवारिक फिल्म भएकाले ‘झिँगे दाउ’मा वृद्धवृद्धाको उस्थिति पनि उल्लेख्य देखिएको छ। फिल्मले देशभरिका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

त्रिकोणात्मक प्रेम कथामा आधारित ‘सम्हालिन्छ कहिले मन’मा कलेज पढ्ने विद्यार्थीको उपस्थिति धेरै देखिएको छ। 

दोस्रो हप्तामा प्रदर्शनरत ‘प्रकाश’मा दर्शकको संख्या स्थिर देखिएको छ। पहिलो हप्ता ‘लाइगर’का कारण कम शो पाएको ‘प्रकाश’ले दोस्रो हप्ताको पहिलो दिन नै दुई नयाँ प्रतिस्पर्धी पाएको थियो। तर यसको शोमा तथा दर्शकको उपस्थितिमा कमी भने आएन। 

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘झिँगे दाउ’ भीमनिधि तिवारीको कथामा आधारित फिल्म हो। विसं २०२५ आसपासको समय परिवेश देखाउन खोजिएको फिल्ममा एकल आमाले हुर्काएका छोराहरू ठूला भएर विवाह भइसकेपछि बदलिएको स्वभाव, परिवारभित्रको किचलोका बारेमा देखाइएको छ। फिल्ममा हिउँबाला गौतम, मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा र कुशल बिष्टको मुख्य भूमिका रहेको छ। 

सुगम पोखरेलको गीतबाट नाम सापटी लिइएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म हो। फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोपदेनको मुख्य भूमिका रहेको छ।

दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको ‘प्रकाश’मा प्रदीप खड्का, दीया मास्के, रेनुनाथ योगी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्ममा शिक्षक बन्ने सपना देखेको  निम्नवर्गीय परिवारमा जन्मेको युवकको कथा रहेको छ। 

आगामी शुक्रबार ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खाः बेनिथ द ब्रेवरी’ गरी दुई नेपाली फिल्म र एउटा हिन्दी फिल्म ‘ब्रह्मास्त्र’ प्रदर्शनमा आउँदैछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.