गुन्डा, हत्यारा र भ्रष्टको आरोप लागेकादेखि श्रीमान् श्रीमती नै सांसद बन्ने होडमा

|

काठमाडौं : प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेतादेखि गुन्डा नाइकेसम्म सिफारिशमा परेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका क्षेत्रीय कमिटीहरूले गुन्डादेखि, श्रीमान् श्रीमती मात्र होइन‚ एकै परिवारका तीनजनासम्मको नाम सिफारिश गरेर केन्द्रमा पठाएका छन्। 

एमाले

नेकपा एमालेले झापा क्षेत्र नं ५ बाट पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिश गरेको छ।

इलाम क्षेत्र नं २ बाट सुवासचन्द्र नेम्वाङलाई सिफारिश गरिएको छ। एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङलाई पार्टी क्षेत्र नं २ को कमिटीले एकल नाम सिफारिश गरेर पठाएको हो। नेम्वाङ २०५६ सालयता भएका सबै संसदीय/संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट निरन्तर विजयी भइरहेका छन्। 

प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका विष्णु पौडेल रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट, रूपन्देही क्षेत्र नं ५ बाट हाल राष्ट्रियसभामा एमाले संसदीय दलका नेता रहेका खिमलाल भट्टराई, दाङ क्षेत्र नम्बर ३ बाट युवराज ज्ञवालीसहित केन्द्रीय सदस्यद्वय घनश्याम पाण्डे र कोमल वलीको नाम सिफारिश भएको छ। ज्ञवाली पूर्व स्थानीय विकासमन्त्री हुन् भने पाण्डे तुलसीपुर उपमहानरपालिका निवर्तमान मेयर हुन् र वली निवर्तमान राष्ट्रियसभा सदस्य छन्। 

काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट गोकुल बास्कोटा, दाङ क्षेत्र नम्बर २ बाट महासचिव शंकर पोखरेल, अछाम क्षेत्र नम्बर १ बाट भीम रावल, माओवादीबाट एमालेमा आएका लेखराज भट्ट भने कैलाली ४ बाट सिफारिश भएका छन्।

विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका ठाकुर गैरे पाल्पा क्षेत्र नम्बर-२ बाट, रघुवीर महासेठ धनुषा क्षेत्र नम्बर ४ बाट र उनकी श्रीमती जुलीकुमारी महतो क्षेत्र नम्बर ३ बाट सिफारिशमा परेका छन्। 

नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्न राजीनामा दिने तयारीमा छन्। भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिने मनस्थिति बनाएको उनीनिकट स्रोतले जनाएको छ।

नेकपा एमालेले २०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका र हाल राष्ट्रियसभा सदस्य भएकाहरूलाई उम्मेदवार बन्न रोक लगाउने निर्णय गरेको थियो। एमालेले भदौ २२ गतेसम्म उम्मेदवार सिफारिश गर्ने निर्देशन दिएको थियो।  

कांग्रेस

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत उम्मेदवार सिफारिश भएका छन्। देउवाले २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन्। 

प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवाले सबैभन्दा धेरै क्षेत्रबाट सिफारिश हुने रेकर्ड बनाएकी छिन्। हालसम्म उनको नाम ६ क्षेत्रबाट सिफारिश भइसकेको छ। उनी कैलाली क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा छिन्।  

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिश भएका छन्। खड्का यो क्षेत्रबाट ०७४ मा एमालेका ध्रुवकुमार शाहीसँग पराजित भएका थिए। 

कांग्रेम महामन्त्री गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट, कास्की क्षेत्र नम्बर १ र काठमाडौं ४ बाट सिफारिश भएका छन्। महामन्त्री थापाले भने २०७४ मा निर्वाचित भएको क्षेत्र काठमाडौं ४ बाटै आफ्नो उम्मेदवारी रहने प्रस्ट पारिसकेका छन्। 

महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट र सुनिलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिश भएका छन्। 

नेपाली कांग्रेसले मोहम्मद अफताब आलमदेखि भ्रष्टाचार मुद्दामा मुछिएका विजयकुमार गच्छादारसम्मलाई सिफारिश गरेको छ। जिउँदो मान्छेलाई इँटा भट्टामा हालेको आरोपमा थुनामा रहेका मोहम्मद अफताव आलमलाई कांग्रेस रौतहट क्षेत्र नम्बर २ समितिले प्रतिनिधिसभाको उम्मेदवारमा एकल नाम सिफारिश गरेको हो। 

कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिश भएका छन्।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने तनहुँ क्षेत्र नम्बर १ बाट सिफारिश भएका छन्। सोही क्षेत्रबाटै कांग्रेसका गोविन्द भट्टराई र शङ्कर भण्डारीलाई पनि सिफारिश गरिएको छ। तनहुँ क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य प्रदीप पौडेल, रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाँण र चितवन क्षेत्र नम्बर २ बाट तेस्रो नम्बरमा केन्द्रीय सदस्य एवं राज्यमन्त्री उमेश श्रेष्ठको नाम परेको छ। 

सुनसरी क्षेत्र नम्बर ४ बाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सिफारिश भएका छन्। बारा कांग्रेसले निर्वाचन क्षेत्र ४ (क) को लागि एकै परिवारका तीनजनाको नाम सिफारिश गरेको छ। प्रत्यक्षतर्फ सिफारिश भएका छविलाल शर्माकी श्रीमती गीता शर्मा तथा बहिनी मीना शर्मा (ढकाल) समानुपातिकतर्फ सिफारिश भएका हुन्।

नेकपा (माओवादी केन्द्र)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार सिफारिश भएका छन्। प्रचण्ड यसअघि २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनको नाम यसअघि गोरखा १ बाट पनि सिफारिश भएको छ। यद्यपि प्रचण्डले आफू चितवन ३ बाटै चुनाव लड्ने बताइरहेका छन्। प्रचण्डको नाम बागलुङ क्षेत्र नम्बर २ बाट पनि सिफारिश भएको छ।

माओवादीका नेता एव‌ं सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट सिफारिश भएका छन् भने माओवादी केन्द्रका महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङ प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि लमजुङबाट उम्मेदवारमा सिफारिश भएका छन्। गुरुङ २०७४ सालको निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। मनाङको नासों गाउँपालिका ४ ओडारगाउँका भए पनि पछिल्लो समय लमजुङ केन्द्रित राजनीति गर्दै आएका गुरुङ दोस्रोपटक प्रतिनिधिसभाका उम्मेदवार बन्न लागेका हुन्। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका २ वटै निर्वाचन क्षेत्रबाट सिफारिश भएका छन्। मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।  

माओवादी अध्यक्ष प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिशमा परेका छन्। 

नेकपा (एकीकृत समाजवादी)

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट नाम सिफारिश भएको छ। उनको नाम क्षेत्र नम्बर १ र ४ बाट सिफारिश भएको हो। पाल्पा क्षेत्र नं २ बाट सोमप्रसाद पाण्डे नेकपा समाजवादीबाट एकल सिफारिश भएका छन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम पनि प्रतिनिधिसभा सदस्यका लागि इलाम १ मा  सिफारिश गरिएको छ।

जसपा
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिश भएका छन्। जसपाका केन्द्रीय सदस्य एवं वनमन्त्री प्रदीप यादव पर्सा १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिश भएका छन्। 

लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट सिफारिश गरिएको छ।

ठाकुर बारा क्षेत्र नं ४ बाट पनि सिफारिश भएका छन्। अध्यक्ष ठाकुरसहित सांसद एकवाल मियाँ, क्षेत्रीय अध्यक्ष सीताराम गुप्ता र नेता शिवजी साहको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिश गरिएको क्षेत्रीय समितिले जनाएको छ। मियाँ ०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

धनुषा क्षेत्र नम्बर ३ मा हेभीवेट मानिने राजेन्द्र महतो र जुली महतो आमुन्नेसामुन्ने हुने निश्चित भएको छ। २०७४ मा धनुषा ३ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट राजेन्द्र महतो विजयी भएका थिए। अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता रहेका महतोलाई सिफारिश गरिएको छ। २०७४ को निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता विमलेन्द्र निधि प्रत्यक्षमा नलड्ने भएपछि महतो उत्साहित छन् तर उनलाई टक्कर दिन नेकपा एमालेबाट जुली महतो प्रतिस्पर्धामा छिन्।

राप्रपा नेपाल

संघीय सांसद उम्मेदवारको निम्ति राप्रपा नेपालले मकवानपुर १ बाट पार्टी अध्यक्ष कमल थापा र मकवानपुर क्षेत्र नम्बर २ को पार्टीका महामन्त्री राजाराम बर्तौलालाई एकल सिफारिश गरेको छ। 

राप्रपा

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ। राप्रपाले पार्टीको केन्द्रीय सदस्य दीपकबहादुर सिंहलाई मकवानपुर क्षेत्र नम्बर १ को उम्मेदवार बनाउने निर्णय गरेको हो। सिंह यसअघि भएको स्थानीय निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा तेस्रो भएका थिए।

मुख्यमन्त्रीमै नजर

राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने र पार्टीको माथिल्लो तहको भूमिकामा रहेका कतिपय नेता भने मुख्यमन्त्री बन्न प्रदेशसभामै नजर गाडेर बसेका छन्। त्यसमा यसअघि मुख्यमन्त्री भइसकेकादेखि मुख्यमन्त्रीमै दौडमा रहेर पनि असफल भएकाहरू छन्। 

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पुनः लमजुङबाट प्रदेश सभा ’ख’ बाट उम्मेदवार सिफारिश भएका छन्। 

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पर्सा क्षेत्र नं. १ को (ख) बाट  प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिश गरिएको छ। 

एमाले कर्णाली प्रदेश कमिटीका इन्जार्च यामलाल कँडेललाई सुर्खेत क्षेत्र नम्बर २ (क) बाट सर्वसम्मत एकल उम्मेदवार सिफारिश गरिएको छ। 

डनको निरन्तरता

काभ्रे क्षेत्र नम्बर १ को (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामालाई सिफारिश गरिएको छ। लामाले गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार बनाउन युवा तथा खेलकुदमन्त्री दीपक मनाङेलाई एमालेको विपक्षमा मतदान गराउन पोखरामै पुगेर विशेष भूमिका खेलेका थिए। उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको साझा तथा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए। 

नेकपा एमालेबाट डन मिलन चक्रे पनि गोरखा क्षेत्र नम्बर २ बाट सिफारिश भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.