|

काठमाडौं : प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयक २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक बहुमतले स्वीकृत भएसँगै विकास तथा प्रविधि समितिमा पठाएको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए। सामान्य छलफलपछि आजै समितिमा पठाउने गरी स्वीकृत गरिएको हो। समितिमा छलफल पछि पुन: प्रतिनिधिसभाले स्वीकार गर्नेछ र राष्ट्रियसभामा पठाइनेछ।

यो विधेयक प्रेस स्वतन्त्रताको विपक्षमा रहेको बताउँदै नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न संघ संगठनले विरोध गरिरहेका छन्। नेपाल प्रेस काउन्सिल ऐन, २०४८ लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमा प्रेस काउन्सिलको नाम परिवर्तन गरी मिडिया काउन्सिल बनाउन प्रस्ताव गरिएको छ तर काउन्सिल स्वायत्त संस्था हुने कतै उल्लेख नगरिएकाले सरकारले प्रेस स्वतन्त्रता नियन्त्रणमुखी विधेयक ल्याएको भन्दै विरोध भएको हो।

मन्त्रालयका सचिव नेतृत्वको समितिले काउन्सिलका पदाधिकारी सिफारिस गर्ने व्यवस्थाको पनि आलोचना भइरहेको छ तर सरकारले सरोकारवालाको सुझाव अनुसार विधेयकलाई संशोधन गरिने आश्वासन दिएको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.