|

पर्वत : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ। गत साउन २२ को यो निर्णय अनुसार अबको करिब साढे चार महिनामा विमान उडानको काम सुरु हुन्छ।

तर पोखरा महानगरबासीहरुले भने तोकिएकै समयमा विमान उडानको काम सुरु होला भनेर पत्याउन सकेका छैनन्। विमानस्थल निर्माणको काम सुरु भएकै बेलादेखि विमानस्थलका मुख्य दुई चुनौतीको रूपमा पोखरा महानगरपालिकाले ‘ल्याण्डफिल्ड साइड’ का रूपमा प्रयोग गर्दै आइरहेको पोखरा–१४ को बाच्छेबडुवा र विमानस्थल नजिकको रिट्ठेपानी डाँडा। 

पोखरा महानगरपालिकाले विमानस्थलकै लागि ‘ल्याण्डफिल्ड साइड’ सार्ने भनेर धेरै पटक प्रयास गरेको भए पनि उपयुक्त स्थान नपाएका कारण अहिलेसम्म पनि समस्या ज्युँकात्युँ छ। विमानस्थल सुरु गर्ने समय मुखैमा आइपुग्दा पनि विमानस्थल माथिको आकाशमा चिल र गिद्ध उडिरहेका देखिन्छन्। ‘ल्याण्डफिल्ड साइड’ मा आहारा खोजेर पालिने गरेका पक्षीका कारण विमानस्थल निर्धारित समयमा नै सञ्चालनमा आउला भनेर पोखरावासीले नपत्याएका हुन्।

दुई समस्यामध्येको एक रिट्ठेपानी डाँडा कटानको बाँकी रहेको काम भने तत्कालै अगाडि बढ्न लागेको छ। डाँडा कटानको कामलाई छिटो सकेर तोकिएको मितिमा नै विमान उडाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले बोलपत्र आह्वान गरेको छ। असोजको २५ गते भित्रमा आवेदन दिन सकिने गरी ७२ लाखको ठेक्का आह्वान भएको छ। 

ठेक्का सम्झौता भए लगत्तै कार्तिकको दोस्रो साताबाट कटान कार्य सुरु भएर एक महिनाभित्र काम सम्पन्न हुने क्यानले जनाएको छ। डाँडामा रहेका करिब ६०० भन्दा बढी रुख कटानका लागि वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिएसँगै रुख कटानको काम सकिएको थियो। रिट्ठेपानी डाँडाको १४ मिटर कटान भए लगत्तै क्यालिब्रेसन फ्लाइट गर्ने तयारी रहेको पनि प्राधिकरणले जनाएको छ। 

क्यानले डाँडा कटानका लागि बोलपत्र आह्वान गरेसँगै अबका तीन महिनाभित्र कटानको काम सक्नेगरी काम अगाडि बढ्ने छ। हवाइ सुरक्षाका लागि विमानस्थल छेउको डाँडा ४० मिटर कटान गर्नुपर्ने छ। डाँडा कटानको लागि बोलपत्र आह्वान भएपछि चुनौतीका रूपमा रहेको रिट्ठेपानी डाँडाको चिन्ता भने कम भएको छ। 

‘डाँडा काट्नको लागि टेण्डर भएपछि अब त्यो डाँडा काटिने कुरामा ढुक्क भइएको छ। विमान सञ्चालन गर्ने वेलासम्ममा जति काट्नुपर्ने हो त्यो काटेर सकिने छ’, विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मी भन्छन्, ‘डाँडाको विषयले अब उडानमा अवरोध हुने छैन। तर ल्याण्डफिल्ड साइडको समस्याले चुनौती कायमै छ। फोहोरका कारण पक्षीको जोखिम उस्तै छ।’

बाच्छेबडुवामा रहेको ‘ल्याण्डफिल साइड’ स्थानान्तर गरी त्यहाँ रहेको फोहोर व्यवस्थापन नगर्दासम्म विमानस्थल सञ्चालनमा आउन नसक्ने अवस्थामा छ। हवाइ सुरक्षा मापदण्डअनुसार विमानस्थलको १२ देखि १४ किलोमिटर क्षेत्र नजिक ल्याण्डफिल र तीन किलोमिटर क्षेत्रभित्र वधशाला रहनु हुँदैन। जबकि अहिलेको ‘ल्याण्डफिल्ड साइड’ विमानस्थलबाट करिब चार किलोमिटर मात्रै टाढा रहेको छ।

यस्तो छ महानगरको प्रयास

‘ल्याण्डफिल साइड’ लाई हटाउनको लागि पोखरा महानगरपालिकाले सम्भावित धेरै विकल्प खोजी नगरेको पनि होइन। पोखरा महानगरपालिका–१६ र २० को सिमाना रहेको पस्मराङमा ल्याण्डफिल साइट सार्ने भनेर महानगरको कार्यपालिका बैठकबाट निर्णय भएको भए पनि स्थानीयले पानीको मुहानमा फोहोर हुने भन्दै गरेको अवरोधका कारण महानगरले त्यो निर्णयलाई अगाडि बढाउन सकेन।

पस्मराङको विकल्पको रूपमा पोखरा महानगरपालिका–३३ मा रहेको टिमुरपाटामा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेकोमा त्यसमै पनि स्थानीयको विरोध छ।
२०७५ सालमा विमानस्थल आयोजनाले पोखरा महानगरपालिकालाई ताकेता गरेको भए पनि निवर्तमान प्रमुख मानबहादुर जिसी यसको व्यवस्थापनमा असफल बने। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट नगरप्रमुख बनेका उनीसँग काम गर्नको लागि चार वर्षको समय थियो। 

उडानको मिति नजिकिँदै जाँदा दबाबमा परेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ल्याण्डफिल्ड साइटको आवश्यकता नै नपर्ने गरी ‘बायो ग्यास प्लान्ट’ जडान गरेर फोहोर व्यवस्थापन गर्ने उपायको खोजीमा छन्। आचार्यको नेतृत्वमा सुनसरीको धरानमा रहेको भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा सञ्चालित बायो ग्यास प्लान्टको निरीक्षण समेत भएको थियो। 

आचार्यको नेतृत्वमा प्राविधिकसहितको टोलीले छिमेकी मुलुक भारतसम्म पुगेर फोहर व्यवस्थापनका उपायका बारेमा पनि अध्ययन  अवलोकन गरेको छ। नयाँ दिल्ली, गाजियावाद लगायत शहरमा भइरहेको फोहोर व्यवस्थापनको अवलोकन गरेको महानगरको टोलीले पुनः भारत जाने तयारी पनि गरिरहेको छ।
‘ल्याण्डफिल्ड साइड’ देखि विमानस्थलसम्म उड्दै आइरहेका पक्षीको स्थानान्तरण तथा सुरक्षित बसोबासको विकल्प खोज्न महानगरको टोलीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सञ्चालनमा रहेको जटायु रेस्टुरेन्टको पनि अवलोकन गरेको छ।

कावासोती नगरपालिका अन्तर्गत नमुना मध्यवर्ती सामुदायिक वनमा जटायु रेस्टुरेन्ट स्थापना गरी गिद्ध संरक्षण अभियान चलिरहेको छ। हाल रेस्टुरेन्टमा सयौँ गिद्ध रहेका छन्। गिद्धहरू लोप हुँदै गएपछि नेपालमा पनि संरक्षण प्रयास सुरु गरिएको थियो। पोखराको आकाशमा उडिरहेका गिद्ध, चिल लगायतका पक्षीको स्थानान्तरणको सम्भावना खोजेर नगर प्रमुख आचार्य सहितको टोली जटायु रेस्टुरेन्टमा पुगेको थियो।

२०६१ सालदेखि सञ्चालनमा आएर अबका २० औँ वर्षसम्म पनि पुग्ने अनुमान गरिएको ल्याण्डफिल्ड साइट हटाउनु पोखरा महानगरपालिकाका सहज छैन। तर पनि पोखरा महानगरपालिकाले तोकिएकै मितिमा उडान भर्न सक्ने गरी व्यवस्थापन प्रयास गरिरहेको महानगर प्रमुख आचार्यले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.