प्रहरी प्रशासनलाई बदनाम नगर्नुस् : एसपी बोगटी

|

बारा : व्यावहारिक लेनदेनलाई मिटरब्याजीको झुटो मुद्दा लगाएको भन्दै एक व्यावसायिक घराना मिडियामा आएका छन्।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ निवासी सोहन कुमार पिप्लेले स्थानीय व्यवसायी गोपालप्रसाद कलावारसँगको लेनदेनलाई मिटरब्याजीको आरोपमा प्रशासन गुहारेको भन्दै त्यसको विरोधमा कलवार पक्षले आज पत्रकार सम्मेलन गरेको हो।

आरोपीका अनुसार गत मिति २०७० भदौमा पिप्लेले कलबारसँग १० प्रतिशत ब्याज लगाएर एक वर्षभित्रै तिर्ने गरी ६ लाख रुपैयाँ तमसुक कागज गरेर ऋण लिई होटल खोलेका थिए।

पारिवारिक सम्बन्ध बनिसकेकोले २०७५ सालमा बुहारीसँग पनि ३ लाख रुपैयाँ लगेकोमा व्यापार राम्रो नभएको भन्दै समयमा नतिरेको अवस्थामा पिप्लेले आफ्नो होटेलका लागि आवश्‍यक मदिरा पनि कलवारकै पसलबाट लैजाने गरेका थिए। आजभोलि गर्दै पैसा नतिरेर लकडाउनलगत्तै दिएको चेक बाउन्स भएपछि कलवार पक्षले प्रहरी गुहारेका थिए।

गत वैशाखमा इलाका प्रहरी कार्यालयको रोहबरमा जम्मा रु १७ लाखको हिसाब निकाली यही भदौ ९ गते सम्ममा साँवा ब्याजसहित सबै तिर्ने मौखिक सहमति गरिएको थियो।

तर, ९ गते पिप्लेले दिएको चेक लिएर बैंक जाने र पैसा पाउने आशामा बसेका बेला त्यसअघि नै झुटो मुद्दा लगाएर कानुनको दुरुपयोग गरेको लगानीकर्ता गोपाल कलवारका भाई कन्हैया गुप्ताले तर्क गरे।

२०७६ सालको मात्रै ४ लाख १९ हजार १५ रुपैयाँको मदिराको बिल देखाउँदै पिप्लेले मदिराको रकममध्ये २ लाख २५ हजार रुपैयाँ मात्र बुझाएको दाबी गर्दै अब रु.१५ लाख असुलउपर गर्न बाँकी रहेको गुप्ताले बताए। आफूहरु विरुद्ध मिटरब्याजीको झुटो आरोप लगाएपछि बाध्य भएर पिप्लेउपर उच्च अदालत विरगञ्जमा मुद्दा दायर गरेको र २६ गते पेसी रहेको समेत उनले जानकारी दिए।

प्रहरी एकोहोरो भयोपीडित

मिटरब्याजी पीडितका कुरा प्रहरीले सुन्ने वातावरण बन्नु सराहनीय विषय भए पनि प्रहरी एकोहोरो हुन नहुने कन्हैयाको तर्क छ। उनले भने, 'हाम्रो लेनदेन व्यावहारिक छ। यसको प्रमाण हेरिदिनुहोस् भन्दा प्रहरीले चासो दिएन। उल्टै दबाब दिएर लेनदेन नभएको भनी कागज गराउन खोज्यो।'

उनले थपे, 'त्यति मात्र होइन, अपराध अनुसन्धानका वरिष्ठ प्रहरी नायव निरीक्षक सागर राणाले अपमानजनक शब्द प्रयोग गर्दै फसाइदिने र यसबारे जो बोल्छ उसैलाई थुन्ने धम्कीसमेत दिए।'

प्रहरी प्रशासनलाई बदनाम गर्ने प्रयास : एसपी बोगटी

यसबारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले भने आरोप लगाएको जस्तो कुनै कार्य नभएको दाबी गरे।

उनले भने, 'प्रहरीमा आइसकेको विषयमा दुवै पक्षको कुरा सुन्नुपर्ने भएकोले खबर गरेका थियौं। तर आरोपी गोपाल प्रसाद कलवार नआएर उनका भाइ कन्हैया गुप्ता जनप्रतिनिधिको जत्थासहित आए। सबैका सामु कुरा भएको हो। त्यतिबेलै मैले तपाईं धेरै ठाउँ गुहार्नुभन्दा एक्लै आउनुभए पनि हामी कुरा सुन्छौं भनेको हुँ र गर्ने पनि त्यही हो।'

पीडित भन्दै प्रहरीमा पुगेका पिप्लेले साँवा विनाको रकम भुक्तान गर्ने हामीबीच सहमति भइसक्यो तसर्थ आरोप फिर्ता लिन्छु भनेर निवेदन दिँदा पनि प्रहरीले दुःख दिने मनशायले दौडाएको आरोप कलवार पक्षको छ।

यो किन गरियो ? भन्ने प्रश्नमा प्रहरी उपरीक्षक बोगटीले भने, 'आरोप फिर्ताको निवेदन आएको हो तर ऋणी पिप्ले र लगानीकर्ता गोपालप्रसाद कलवारबीच मिलापत्र गराउनुपर्छ। यो लेनदेन सम्बन्धीको तमसुक लगायतका कागजपत्रहरु फिर्ता गर्नुपर्छ भनी सम्झाएर पठाएका हौँ। त्यसो नगरेर पत्रकार सम्मेलन गर्नुले मिटरब्याजीमा संलग्नहरुको मनोबल बढाउने तथा प्रहरी प्रशासनलाई बदनाम गर्ने प्रयत्न गरेको प्रष्ट हुन्छ।'

प्रहरीले नियोजित रुपमा दुःख नदिने भन्दै उनले थपे 'गलत हुनुहुन्न भने वहाँहरु किन भनसुनका लागि दौडिनुपर्यो। लगानीकर्ता किन लुक्नु पर्यो? म थाहाखबरमार्फत नै भन्न चाहन्छु प्रहरीमा स्वयं आउनुस्, आवश्‍यक छलफल गरी मिलापत्र गर्नुस्, धेरैसँग भन्न लगाएर सबैको समय बर्बाद र प्रहरीलाई बदनाम नगर्नुस्।'

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.