|

बेनी : दक्षिण कोरियामा पाँच वर्ष बसेर स्वदेश फर्केका म्याग्दीको बेनी नगरपालिका–५, बगुवाखोलामा सुनिल बानियाँ र निरुता भण्डारीले सुरु गरेको बंगुरपालन यो क्षेत्रकै नमूना बनेको छ।

वैदेशिक रोजगारका लागि रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा पाँच वर्षभन्दा बढी बंगुर फार्ममा काम गरेर फर्किएका बानियाँले विदेशमा कमाएको रकम बंगुरपालनमा खर्चिएका हुन्।

उनले करिब एक वर्षअघि रु. ३५ लाख लगानी गरेर बंगुर फार्म सुरु गरेका हुन्। अहिले उनको खोरमा ल्यान्ड्रेस र योर्कसायर जातका ६० वटा बंगुर हुर्किरहेका छन्। बानियाँले बंगुर बिक्री गर्नसमेत थालेका छन्।

बानियाँले कोरियामा मासिक रु. २ लाख र उनकी श्रीमती निरुताले जापानमा रु डेढ लाखको कमाइ छोडेर गाउँमै बंगुरपालन सुरु गरेको बताए।

‘कोरियामा सिकेको सीपलाई गाउँघरमै प्रयोग गरेको छु, उत्पादन अनुसारको बजार भएमा यही प्रशस्तै कमाइ छ’, बानियाँले भने। उनले गुणस्तरीय मासुका लागि कोरियाको मोडेललाई प्रयोग गरेको बताए।

करिब २ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा माउ, भाले बंगुर, पाठापाठी हुर्काउन र मासु प्रयोजनका लागि पालिने बंगुर बस्ने अलग खोर बनाइएको छ भने प्रसूति कक्ष, सुत्केरी बंगुर राख्ने कोठा, फार्ममा भाले लगाउने एउटा छुट्टै कोठा छ।

भिटामिन, आइरनको सुई दिने, स्वाइन फिभर (ज्वरो), खोरेतको सुई र अरू वेला रोग अनुसारको औषधि र उपचार गर्ने ठाउँसमेत अलग छ। स्वच्छ मासुका लागि आवश्यक सबै विधि र प्रविधि प्रयोग गरेको बानियाँले बताए। हालसम्म खोर निर्माणमा मात्रै पच्चीस लाख रुपैयाँ खर्च भइसकेको उनले बताए।

‘अहिले मासिक डेढ लाखभन्दा बढीको बंगुर बिक्री हुन्छ, सबै खर्च कटाएर मासिक ३ लाख बचत नाफा कमाउने लक्ष्य छ’, बानियाँले भने। एउटा बंगुरलाई ३५ देखि ४५ हजारसम्म पर्छ। बंगुरलाई दानामा अभाव नहोस् भनेर उनले मिल समेत राखेका छन्। बंगुरका कारण वरपरका छिमेकीमा दुर्गन्ध फैलिन नदिन सचेत रहेको बानियाँको भनाइ छ। विदेशमा दुःख गरेर कमाएको रकम गाउँमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिने अवस्था रहेको उनले बताए।

खोरमा मलमूत्र सफा गर्ने, दानापानी दिने, नियमित खोप लगाउने र मासु खानयोग्य बंगुरलाई तयार गरी बेनीमा रहेको पसलमा ल्याएर बिक्री गर्ने बानियाँको दैनिकी बनेको छ।

खोरमा जन्मिएका पाठापाठीलाई नियमित खोप, दानापानीलगायतका आवश्यक मादपण्ड पूरा भएपछि मात्रै बजारमा लैजाने गरिएको उनले बताए। आधुनिक फार्म मात्र नभई गाउँमै बधशाला छ भने सदरमुकाम बेनीस्थित होटल याक नजिकै मासु बिक्री केन्द्र समेत छ। ‘स्वच्छ मासुका लागि खोरमै ध्यान दिनुपर्छ, मापदण्ड पूरा गरेमा ग्राहकको समस्या हुँदैन’, उनले भने।

उनले खोपसहितको उपचार आफूले नै गर्ने भए पनि वेलावेला पशु चिकित्सकलाई फार्ममा बोलाएर बंगुरको स्वास्थ्यबारे निरीक्षण गराउने गरेका छन्। मेहनत र परिश्रम गरियो भने पैसा कमाउनकै निम्ति विदेश जानुपर्ने बाध्यता नभएको उनको भनाइ रहेको छ ।

बानियाँ जस्तै पछिल्लो समय वैदेशिक रोजगारबाट फर्केका युवाहरूले गाउँमै विभिन्न किसिमका व्यावसायिक कृषि र पशुपालन व्यवसाय सुरु गरेपछि अहिले म्याग्दीमा कृषि र पशुपालनप्रति लहर चलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.