दिल्ली भ्रमणमा कुनै सहमति भएको छैन

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफू चितवन–३ बाट उम्मेदवार बन्ने स्पष्ट पारेका छन्। उनले त्यहीँबाटै  चुनाव जित्नेमा ढुक्क रहेको बताए। 

पोखरामा आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रचण्डले  चितवन–३ बाट आफ्नो उम्मेदवारी तय भएको उल्लेख गरेका हुन्।  प्रचण्डले भने, ‘अहिले विभिन्न जिल्लाबाट मलाई हाम्रो पार्टी र अन्य पार्टीका साथीहरुले हाम्रोमा आइदिनु पर्‍यो भनिराख्नुभएको छ। सबैलाई धन्यवाद नै भन्न चाहन्छु। तर म अहिले चितवनबाटै लड्छु। मेरो दिमागमा दायाँबायाँ अर्को छैन।’

उनले चितवनका जनताको चेतना र भावनामा आफूलाई विश्वास रहेको उल्लेख गरे।  उनले भने, ‘गठबन्धन पनि छँदै छ। गठबन्धनमा कुनै विमति छैन। त्यसैले मैले चितवन छोड्दा राम्रो सन्देश दिँदैन। म त्यहाँबाटै जित्छु भन्नेमा झण्डै झण्डै पूर्ण कन्फिडेन्स र विश्वासमा छु।’ उनले शीर्ष नेताको व्यस्तताको कारणले  हिजो सिट बाँडफाँडमा सहमति हुन नसकेकाे उल्लेख गरे। प्रचण्डले आज सिट बाँडफाँडको टुंगो लगाउने दाबी गरे। 

नागरिकता विधेयक तत्कालिन ओली सरकार ल्याएको अध्यादेशबाट राष्ट्रपतिले प्रमाणित भएको विधेयक भएकोले प्रमाणित हुनेमा  विश्वास व्यक्त गरे। 

दिल्ली भ्रमणमा कुनै सहमति भएको छैन

प्रचण्डले आफ्नो दिल्ली भ्रमणका बेलामा कुनै पनि नयाँ समझदारी र सहमति नभएको स्पष्ट पारेका छन्। पत्रकारको प्रश्नमा उत्तर दिँदै उनले भारत भ्रमणपछि अनावश्यक हल्ला फैलाइएको र त्यो काम एमालेका कार्यकर्ताले गरेको संकेत गरे। उनले अमुक पार्टीका कार्यकर्ताले बढी हल्ला गरेको बताएका थिए।

‘आरजु राणा प्रधानमन्त्रीको परिवार पनि हो। स्वास्थ्य उपचारका लागि दिल्लीमा हुनुहुन्थ्यो। मेरो भारत भ्रमणका बेला आरजु पनि त्यहाँ दूतावासमा आउनुभएको थियो। सामान्य औपचारिकता र स्वास्थ्यलाभको कामनाबाहेक केही कुरा भएको होइन,’ प्रचण्डले भने, ’त्योभन्दा बढी हुने कुरा भएन। एउटा राजनीतिक दलसँगका मानिसले भारतीयलाई समेत राखेर सहमति भयो भन्ने कुरा गरे। त्यो विल्कुल नियोजित झुटा प्रचार हो। हाम्रो पार्टी र मलाई बदनाम गर्ने नियत हो। त्यसपछि चिनियाँ राजदूतले समेत तपाईं र आरजु भारतमा बसेर सहमति गर्नुभयो रः भनेर चासो राख्नुभयो। मलाई अनौठो लाग्यो।’

उनले नागरिकता विधेयकका विषयमा पनि त्यसैगरी हल्ला फैलाइएको भन्दै चिन्ता व्यक्त गरे। ‘कुनै साइनो सम्बन्ध नभएको नागरिकता विधेयक पनि म भारतबाट आएर अघि बढाएको भनियो, त्यसमा पनि सत्यता छैन,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.