|

दार्चुला : दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन्। बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन्। बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन्। 

बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका–१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की रहेको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताए। 

पहिरोमा परी नौगाड–४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन्। उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको  हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ साउदले जानकारी दिए। 

जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको बताए। 

यस्तै, बाढी पहिरोमा बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजि गरिरहेका छन्। 

बेपत्तामा महाकाली–३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरु दीपक र दिनेश तथा अन्य चारजना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.