|

काठमाडौं : प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह अमेरिकास्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन्।

उनलाई आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अतिरिक्त महानिरीक्षक तथा प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरेका हुन्।

विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त सम्मेलनमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र ‘एक्सन फर पिस किपिङ’ कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताए।

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्तिसुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले जानकारी दिए। सम्मेलनका क्रममा उनले अन्य देशका प्रहरी प्रमुखसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाटवार्ताका क्रममा युएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको प्रशंसा गरिएको जानकारी दिए।

उनीसँगै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि उक्त सम्मेलनमा भाग लिन अमेरिका गएका थिए। यही भदौ १५ देखि १७ सम्म भएको उक्त सम्मेलनमा १८१ देशका प्रहरी प्रमुखको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.