|
जिल्ला प्रहरी कार्यालय‚ बारा।

बारा : घाँस दाउराको बहानामा जंगलमा हुने गरेका छाडा यौन गतिविधि रोक्न बारा प्रहरी अघि सरेको छ। जंगलमा घाँस दाउरा खोज्ने बहानामा ट्रक तथा मोटरसाइकल चालकसँग मोलतोलका साथ जंगलमै हुँदै आएको यौन क्रियाकलाप रोक्न प्रहरी लागि परेको हो।

बाराको आधाभार जंगल तथा पथलैयादेखि पसाहासम्मको सडक वरपर समूहगत रुपमा ३ देखि ७ जना महिला सधैँजसो देखिन्छन्। उमेरले पाका जस्ता देखिने ती महिलाहरू सो सडकमा गुड्ने ट्रक तथा मोटरसाइकललाई रोक्छन्। 

कुनै कुनै चालकसँग रकमको बार्गेनिङ मिल्न समय लाग्छ भने कुनैसँग तत्काल कुरा मिल्छ। त्यसपछि सवारी सडकमै रोकेर चालक ती महिलासँग जंगलभित्र पस्छन्। जंगलभित्र भएका महिला सडकछेउमा देखिने महिलाभन्दा कम (२५–३७) वर्षका हुन्छन्। बिहान १० बजेपछि दिउँसो ४/५ बजेसम्म सडकमा सवारी रोकिने र जंगल यौनधन्दा हुने गरेको पनि निकै लामो समय भैसकेको स्थानीय बताउँछन्।

सामान्यतः पाका उमेरका देखिने र घाँस दाउरा खोजेजस्तो लाग्ने महिलाहरूले संरक्षण दिने भएर पनि प्रहरीले उचित कारबाही गर्न नसकेकाले अब अपरेशन शुरु गरेको बताउँछन् जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी।

३ जना भारतीय महिला पक्राउ

गैरकानुनी यौन गतिविधिमा संलग्न ३ जना भारतीय महिलालाई जंगलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने तीनैजना भारतको मोतिहारी निवासी  तथा नेपाली बोल्न नजानेकाहरू छन्। यसबाट जंगलमा हुने यौन गतिविधिमा भारतीय महिला संलग्न रहेको पुष्टि भएको छ।

जंगलमा यौन व्यापार हुने गरेको गुनासो पटकपटक आएको तथा प्रहरी स्वयं जानकार भए पनि नियन्त्रणका लागि मेसो नमिलेकोमा यस पटक भने प्रहरी सफल भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले दाबी गरे। 

‘हेर्दा घाँस दाउरा गरिरहे जस्तो देखिने हुँदा पक्रने आधार हुन्नथ्यो। शंकास्पद गतिविधि लागेको अवस्थामा पनि जंगलै जंगल भाग्ने हुँदा हामीलाई समस्या हुन्थ्यो‚’ तिमिल्सिनाले भने‚ ‘अहिलेको पटक प्रहरीले निक्कै हम्मेहम्मेका साथ शंकास्पद गतिविधि गरिरहेको अवस्थामा ३ जनालाई नियन्त्रणमा लिन सफल भयो।’ 

पार्किङबाहेक अन्य ठाउँमा सवारी रोक्न पाइन्न : ट्राफिक प्रहरी

दायाँ बाँयाँ जंगल बीचमा हाइवे, हाइवेमा घण्टौं पार्क हुन्छन् ट्रक र मोटरसाइकल। चालक जंगलमा यौन व्यापारमा व्यस्त भइरहँदा सवारी हाइवेमा सुस्ताउँछ। तीव्र गतिमा सवारी आवागमन हुने हाइवेमा पार्कीङले दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ भने जंगलभित्र यौनधन्दा मौलाएको छ।

यसरी हाइवेमा पार्किङ गर्नु ट्राफिक नियमविपरीत रहेको बताउँछन् नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारी।

उनले भने‚ ‘पार्किङको बोर्ड लागेको बाहेकका सबै सडकजन्य स्थानलाई नो पार्किङ एरिया भनेर बुझ्नुपर्छ। तसर्थ यो नियमविपरीत हाइवेमा लामो समय पार्किङ हुन्छ भने ट्राफिक प्रहरीले कारबाही गर्छ।’

जंगलमा हुने यौन विकृति रोक्ने प्रयासमा छौं : उपरीक्षक बोगटी

बालबच्चा भएको बताउने सिँदुर लगाएका दलित तथा मुस्लिम २५, २७ र ३४ वर्षका पक्राउ परेका ती ३ जनासँग प्रहरीले सोधपुछ गरेको छ। सो क्रममा ज्यालादारी कामको बहानामा नेपाल आई बारा पर्साका विभिन्न होटलमा भाडामा बस्ने र जंगलमा यौन गतिविधि गर्ने एउटा गिरोह नै रहेको संकेत पाएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

विसं २०६३ सालमा चपुरमा कार्यरत हुँदा पनि आउँदाजाँदा यस्ता दृश्य देखेको भन्दै उनले भने‚ ‘यो बारा जिल्लाको लागि चुनौतीपूर्ण विकृति हो, यसलाई रोक्न अपरेशन नै चलाउँछौं। सबैको इमान्दार साथ पाए रोक्न असम्भव छैन।’

यो गलत काममा चालकहरूको पनि उत्तिकै दोष भएकोले दुवैलाई नछोड्ने भन्दै उनले अहिलेका लागि भने परामर्शसहित चेतावनी दिएर छाड्ने तयारी गरेको बताए।

थाहाखबरसँगको कुराकानीका क्रममा बोगटीले सो बाटो भएर हिँड्दा शंकास्पद लागेको अवस्थामा प्रहरीलाई सूचना दिएर सहयोग गर्न सबैलाई आग्रह गरे। उनले चालकहरूलाई पनि नसच्चिए कडा कारबाही भोग्नुपर्ने चेतावनी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.