|

काठमाडौं : सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा घुस लिने उपसचिव नेपाल र दिने बि.बि. एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो।

नागरिक उड्डयन महाशाखाका उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालन अनुमतिपत्र उपलब्ध गराइदिन सेवाग्राहीसँग लिएको ६ लाख रूपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको गरेको थियो।

काठमाडौं महानगरपालिका-१ मनकामना मार्गस्थित होटल अरन्याको कम्पाउण्डबाट उनलाई नियन्त्रणमा लिई उनका गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रूपैयाँ गरी उनको साथबाट जम्मा २२ लाख ५० हजार नगद बरामद गरेको थियो।

अनुसन्धानको क्रममा स्रोत नखुलेको १६ लाख ५० हजार बि.बि. एयरवेज प्रालिको इजाजत नवीकरण सम्बन्धित कार्य सम्पादन गरेकाले एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग सापटी लिएको खुलेको अख्तियारले जनाएको छ।

अख्तियारले यसलाई भ्रष्टाचारजन्य कसुर भन्दै कैद सजायसहित सो रकम जफत गर्न माग गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले दिए।

उनका अनुसार रकम सापटी दिई उपचसचिव नेपाललाई लाभ पुर्‍याएको भन्दै अख्तियारले मतियारका भूमिका निर्वाह गर्ने एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.