|

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेश गर्ने पहिलो दिन आज निर्वाचन आयोग दलहरूलाई कुरेको कुरै भएको छ।

दलहरूलाई भने सांसद बन्ने आकांक्षी बढी भएपछि उम्मेदवारको टुङ्गो लगाउन सकस परेको छ। केही साना दलले भने आजै आयोगको कार्यालय पुगेर बन्दसूची बुझाएका छन्।

आइतबार प्रतिनिधिसभामा २ साना दल र प्रदेशसभा सदस्यअन्तर्गत ३ दलले बन्दसूची बुझाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभाका लागि नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले बन्दसूची पेश गरेका छन्।

प्रदेशसभाका लागि प्रदेश नम्बर १ मा किराँत खुम्बुवान साझा पार्टी, बागमतीमा तामाङशाली पार्टी र मधेस प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टीले बन्दसूची पेस गरेका छन्।

निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउने दलका रुपमा नेपाली समावेशी पार्टी पहिलो दल बनेको छ। ठूला दलहरूलाई सूची बुझाउन हम्मे हम्मे परिहरहेका वेला नेपाली समावेशी पार्टीले आज आयोगमा पुगेर उम्मेदवारहरूको बन्द सूची दर्ता गराएको हो।

बन्दसूची दर्ता भएसँगै निर्वाचन अधिकृतको कार्यालयले आगामी असोज ४ गते दिउँसो २ बजे बन्दसूचीको जाँचबुझका लागि बोलाएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आज साँझ समानुपातिकतर्फको नामावली प्रस्ताव पारित गरेको छ। आज पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फ सबै क्लस्टर समेटेर ११० जना र प्रदेशसभाका लागि २२० जनाको नाम छनोट गरेको एमाले प्रचार विभाग उपप्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

उनका अनुसार प्रतिनिधिसभामा छानिएकामध्ये ५७ जना महिला समेटिएको छ। एमालेले भोलि निर्वाचन आयोगलाई सूची बुझाउने तयारी गरेको छ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आज समानुपातिकतर्फको उम्मेदवारको सूची नै तयार पार्न सकेन। प्रदेशबाट सिफारिश भएका नाम धेरै भएकाले आज बसेको पदाधिकारी बैठकले सूची टुङ्ग्याउन नसकेपछि बन्दसूची तयार गर्न महासचिव देव गुरुङको नेतृत्वमा कार्यदलसमेत गठन गरेको छ।

कार्यदलले सिफारिश गरेको सूचीको अध्ययनपछि भोलि बिहान बस्ने पदाधिकारी बैठकले बन्दसूची तयार पार्ने नेता गिरिराजमणि पोखरेलले जानकारी दिए।

अर्को सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले पनि सोमबार नै सचिवालय बैठक बसेर समानुपातिक उम्मेदवार टुङ्गो लगाउने भएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाए पनि आयोगमा पेश गरेका छैनन्। लोसपाले पनि समानुपातिक उम्मेदवारको बन्द सूची भोलि आयोगलाई बुझाउनेछ।

लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार पार्टीको शीर्ष नेताको बैठकले समानुपातिक उम्मेदवारको सूची तयार गरिसकेको छ। पार्टीका शीर्षस्थ नेताको विभिन्न चरणको बैठकले छलफल गरी बन्दसूचीको नाममा सहमति भइसकेको लोसपाले जनाएको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची आजै आयोगलाई बुझाउने तयारी गरे पनि भोलि मात्रै बुझाउने भएको छ। पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता मनिष कर्णले बताए।

उनले पार्टीको कार्यकारिणी समिति र संसदीय बोर्डको बैठकले उम्मेदवारको बन्दसूचीलाई अन्तिम रुप दिएको र केही प्राविधिक काम सकेर आयोगमा  सूची बुझाइने बताए।

प्रवक्ता सुमनले पार्टीका तर्फबाट प्रतिनिधिसभाकाका लागि १ सय १० जना र सातवटै प्रदेशको बन्दसूची आजै आयोगमा पठाइने जानकारी दिएका छन्। उम्मेदवारको सूची तयार गर्न जसपाको भदौ ३१ र असोज १ गते कार्यकारिणी समितिको बैठक बसेको थियो भने भदौ २९ र ३१ गते संसदीय बोर्डको बैठक भएको थियो।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको लागि दिएको समयमा अब भोलि एकदिन बाँकी छ।

समानुपातिक उम्मेदवारको सूची सोमबार साँझ ५ बजेसम्ममा पेश गर्नुपर्ने दबाब दलहरूलाई छ तर साँझ ५ बजेभित्र आयोगमा पुगेका दलहरूले अबेरसम्म बन्दसूची पेश गर्न सकिने आयोगले जनाएको छ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नमूना मतपत्र सार्वजनिक गरेको छ। आयोगका अनुसार समानुपातिकतर्फ २१ लाख नमूना मतपत्र छपाइ भएको र मूल नमूना मतपत्र छपाइको काम भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.