|
फाइल तस्वीर

काठमाडौं : मेलम्चीपछि याङरी र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप बिछ्याउन थालिएको छ।

सुन्दरीजलबाट चाबहिलसम्म ११ किलोमिटर मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि १ हजार ६०० र १ हजार ८०० मिलिमिटर (एमएम) का ठूला पाइप बिछ्याउन थालिएको हो। 

दोस्रो चरणमा याङरी र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिछ्याउन थालिएको हो। पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म विसं २०६९ मा १ हजार ४ सय मिलिमिटरको पाइप बिछ्याइएको थियो।

यो पाइपबाट दैनिक २२ करोड लिटर पानी ल्याउन सकिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।

दोस्रो चरणमा १ हजार ६०० र १ हजार ८०० मिलिमिटरका पाइप बिछ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साढे २ किलोमिटर नयाँ पाटीसम्म १ हजार ८०० मिलिमिटरको पाइप बिछ्याइनेछ। साढे २ किलोमिटरभन्दा तल चाबहिलसम्म करिब ८ किलोमिटर भने १ हजार ६०० मिलिमिटरको पाइप बिछ्याइनेछ।

याङ्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप बिछ्याइएको उनले बताए। 

वर्षाका समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ। याङ्री र लार्केको पानी राजधानी ल्याउन तयारी शुरु भएकै बेला निर्देशनालयले भने पाइप बिछ्याउन थालिसकेको छ।

हवास उई कङ्काई कम्पनी जेभीले पाइप बिच्छ्याउने कामको ठेक्का पाएको छ। सन् २०२१ अप्रिलमा शुरु भएको काम २ वर्षमा सकिने सम्झौता भएको छ। २ अर्ब ८८ करोडको लागतमा काम भइरहेको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताए।

सुन्दरीजलबाट गोकर्णेश्वर महादेव मन्दिरमाथिको जगडोल डाँडासम्म जग्गा अधिग्रहण गरेर ठूला पाइप बिछ्याइएको छ। जगडोल डाँडाबाट चाबहिलसम्म भने सडकमा ठूला पाइप बिछ्याइनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.