|

पर्वत : गत वैशाख ३१ गते भएको स्थानीय तहको मत परिणाम सार्वजनिक गरिएपछि राजनीतिक दलका गतिविधिहरू विस्तारै सेलाउँदै गयो। निर्वाचनको बेलामा सकेसम्मको बल लगाएर राजनीतिक भेला र कार्यक्रमहरूमा सहभागी हुने गरेका नेता तथा कार्यकर्ताहरूले निर्वाचन सम्पन्न भएपछि मात्रै आनन्दको श्वास फेरे।

चुनावको बेलामा तात्ने र अघिपछि कानमा तेल हालेर बस्ने दलहरूको राजनीतिक सक्रियता फेरि बढ्दै गएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा स्थानीय तहको निर्वाचनको थकाइका कारण आराम गरिरहेका स्थानीय तहका नेता तथा कार्यकर्ताहरूलाई ब्युँझाउन जिल्ला तहका नेताहरूको ग्रामीण क्षेत्रको यात्रा बढ्दै गएको छ।

राजनीतिक दलहरू कोहीले सामान्य भेटघाटका रूपमा गाउँ छिर्दै आगामी निर्वाचनको बारेमा कार्यकर्तालाई तताउँदै छन् त कोहीले प्रशिक्षण कार्यक्रम राखेर चुनाव लक्षित सक्रियता देखाइरहेका छन्।

आफ्ना नेता तथा कार्यकर्ताहरूको उपस्थिति आवश्यक परेको बेलामा हरेक ठाउँमा हुने गरेको बताउँदै नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले आगामी चुनावलाई लक्षित गरेर पहिलेको भन्दा बढी सक्रियता बढ्दै गइरहेको बताउँछन्। स्थानीय तहको निर्वाचनको थकानले आराम गरिरहेका नेता तथा कार्यकर्ताहरू त्यसयता करिब मौन अवस्थामा रहेको भए पनि पार्टीले भातृ र शुभेच्छुक सङ्गठनहरूसँग अन्तरक्रिया तथा छलफल गरेर सेलाएर बस्ने अवस्थामा नराखेको जोशीको भनाइ छ।

‘स्थानीय तहको निर्वाचनको बारेमा विश्लेषण गर्न पनि हुने र आगामी निर्वाचनको बारेमा पार्टीले अपनाउनुपर्ने रणनीतिको बारेमा पनि सल्लाह हुने गरी लामो समयसम्म फरक–फरक भ्रातृ तथा शुभेच्छुक सङ्गठनहरूसँग छलफल चलायौँ,’ उनले भने, ‘छलफल चलाउनुको कारण नै चुनावपछि नेता तथा कार्यकर्ताहरू मौन अवस्थामा नबसुन् भन्ने नै हो। त्यस बाहेक विभिन्न ठाउँमा टोलदेखि स्थानीय तह स्तरसम्मका बैठक तथा भेलाहरूको आयोजना पनि भइरहेका छन्।’ राजनीतिक अवस्थालाई चलायमान बनाउनको लागि पार्टीले प्रोत्साहन गरिरहेको पनि सभापति जोशी बनाउँछन्।

नेकपा एमाले पर्वतले भने प्रशिक्षण कार्यक्रमहरूको आयोजना गरेर वडा तहबाट बिस्तारै कार्यकर्ताहरूलाई चुनावप्रति जागरूक बनाउँदै छ। एमाले पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाईँले जिल्लाका विभिन्न स्थानहरूमा जिल्ला तथा स्थानीय तहबाट नेताहरू पुगेर प्रशिक्षण कार्यक्रमहरू चलाइरहेको बताइन्।

टोल तथा गाउँलाई सक्रिय बनाउँदै ल्याउँदा पार्टीका आस्थावान् कोही पनि पार्टीका कार्यक्रममा नछुट्ने भएकाले टोल तथा वडाबाट नै गरिने कार्यक्रमहरूलाई एमालेले प्राथमिकता दिएको छ।

‘उम्मेदवारका लागि सिफारिसमा हुनुभएका तथा इच्छा व्यक्त नगर्नुभएका सबैले आ–आफ्नो ठाउँबाट आगामी निर्वाचनमा हाम्रो पक्षमा नतिजा ल्याउने गरी सङ्गठनको तल्लो तहबाट प्रशिक्षण सहितको सक्रियता सुरु गरेका छौँ,’ चापागाईँ भन्छिन्, ‘हामीले पाँच वर्ष अगाडिको नतिजालाई कायमै राख्ने गरी चुनावी तयारीमा जुटेका छौँ। हामी सबै प्रतिबद्ध भएर लागेका छौँ।’  

ठूला दलहरू सहभागी गठबन्धनमा जस्तो समस्यामा आफूहरू नरहने भएकाले पनि प्रचारप्रसारदेखिका हरेक काममा सहजै काम भइरहेको उनको भनाइ छ।

एमालेले वडा तहमा पुगेर प्रशिक्षण कार्यक्रम चलाइरहेको बेलामा नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी लगायत गठबन्धनमा संलग्न भएका दलहरू पनि त्यति धेरै सक्रिय देखिँदैनन्। गठबन्धनमा माथिबाट भाग लागेर आउने उम्मेदवारलाई पर्ख र हेरको अवस्थामा रहने भएका कारण गत स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनका दलहरू सुरुवाती अवस्थामा करिब मौन जस्तै थिए।

प्रतिनिधि सभामा एक जना र प्रदेश सभामा दुई जना गरी कुल तीन जनाले जीत हात पार्ने पर्वतमा अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा एमालेका पदम गिरी, प्रदेश सभा निर्वाचन क्षेत्र दुईमा एमालेकै विकास लम्साल र प्रदेश सभा निर्वाचन क्षेत्र एकमा माओवादीका नेत्रनाथ अधिकारी विजयी भएका थिए।

नेकपा एमालेले पहिले जीतेका दुई ठाउँमा जीत कायम गर्दै प्रदेशसभा निर्वाचन क्षेत्र एकमा पनि जीतको खोजीमा रहेको छ। तर गठबन्धन भने एमालेको विरासतलाई जसरी पनि भत्काउने प्रयासमा छ। गठबन्धनले सिट बाँडफाँट तथा उम्मेदवार छनोटमा सबै नेतालाई सन्तुष्ट पार्नुपर्ने र गठबन्धनलाई एक ढिक्का बनाउनुपर्ने बाध्यकारी अवस्था रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.