|

पर्वत : मौसमको परिवर्तनको बेलामा हुने ‘भाइरल फिवर’ र ‘डेंगु’ को प्रकोपका कारण पर्वत अस्पतालमा बिरामीहरूको चाप ह्वात्तै बढेको छ।

पछिल्ला केही दिन यताबाट अस्पतालको ‘ओपिडी’ विभागमा आएर स्वास्थ्य परीक्षण गराउनेहरू तथा भर्ना भएर स्वास्थ्य लाभ गर्नेहरूको सङ्ख्या उच्च रहेको अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक लक्ष्मण उपाध्यायले बताए।

मौसम परिवर्तनको बेलामा धेरैलाई प्रभावित बनाउने ‘भाइरल फिवर’ र लामखुट्टेको टोकाइबाट हुने ‘डेंगु’ को लक्षण एकै प्रकारको रहेका कारण पनि ‘डेंगु’ को आशङ्कामा स्वास्थ्य परीक्षण गर्न आउने बिरामीहरूको चाप बढेको हो।

सूचना अधिकारी शर्माका अनुसार हालसम्म पर्वत अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आएकामध्ये हालसम्म २५ जनामा ‘डेंगु’ को सङ्क्रमण भएको पुष्टि भएको छ। गत साउनको पहिलो हप्तामा कुश्मा नगरपालिकाका दुई युवामा ‘’डेंगु’ को सङ्क्रमण रहेको पुष्टि भएको थियो। तीन महिनाको अवधिमा पर्वत अस्पतालमा मात्रै उक्त सङ्ख्याले ‘डेंगु’ का बिरामीहरू बढेको र यस्तै अवस्था जिल्लाका अन्य ठाउँमा पनि भएको हुन सक्ने उपाध्यायको भनाइ छ।

‘साउनको पहिलो हप्तामा दुई जनामा देखिँदा नागरिकमा जति डर थियो अहिले २५ जना पुग्दा पनि डराएको पाइँदैन। लामखुट्टेबाट जोगिनको लागि जे जे गर्नुपर्ने भनिएको छ, त्यो गरिएको पाइएको छैन,’ उनले भने, ‘उही कोरोनाको बेलामा नेपालमा एक जनालाई देखिँदा देशभर सजग भए, घर–घरमा सङ्क्रमण हुन थालेपछि मान्छेले अटेर गर्दै गए।

यही कारण नै रोग प्रकोपको अवस्थामा पुग्छ।’ सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जानुको अर्थ प्रकोप बढेको भन्ने भएकाले झन् झन् सचेत हुनुपर्ने अवस्थामा आएको बुझ्नुपर्ने उनको भनाई छ।

‘डेंगु’ सङ्क्रमण भएका बिरामीहरूमध्येका धेरै जसो एकै हिँडडुल नगरी एकै ठाउँमा बसिरहने कर्मचारी तथा व्यवसायीहरु रहेका छन्। दिउँसोको समयमा टोक्ने लामखुट्टेबाट बच्नको लागि अवलम्बन गर्नुपर्ने भनिएका मापदण्ड पालना नगर्दा कार्यालयमा बसेर सेवा दिनेहरू बढी प्रभावित भएका छन्। हिँड्डुल गरिरहेको अवस्थामा लामखुट्टेले खासै टोक्दैन तर स्थिर अवस्थामा रहेको व्यक्ति भएमा लामखुट्टेलाई सजिलो हुन्छ।

नागरिकले अझै पनि ‘डेंगु’ सार्ने लामखुट्टेले सङ्लो र सफा पानीमा यसको किटाणुहरू फैलिन्छ, सफा पानीमा मात्रै ब्रिडिङ गर्छ, यसको सतर्कताको लागि सफा पानी जमेको ठाउँका खाल्डाखुल्डी पुर्ने, टायरमा वा अन्य भाँडामा जमेको पानी फाल्ने गर्नुपर्छ भन्ने कुरालाई ध्यानमा नराख्दा समस्या बढेको हो।

सुत्ने बेलामा झुल टाँगेर सुत्ने, लामखुट्टेले टोक्न नसक्ने गरी शरीर ढाक्ने खालका कपडाहरू लगाउने लगायतका पूर्व सावधानी अपनाउनुपर्ने भनिए पनि यही सावधानी अपनाइएको खासै देखिँदैन।  डेंगुको बारेमा थाहा पाएका व्यक्तिहरूले नै लापरबाही गरेर गमला वा गाग्रीमा राखिएको पानी नढाक्ने, घर वरपरका पानी जम्मा हुने खाडलहरू नपुर्ने लगायतका गरेको पनि देख्न पाइन्छ।

यही बेलामा मौसम परिवर्तनको बेला भएकाले ‘भाइरल फिवर’ का बिरामीहरूको सङ्ख्या पनि तीव्र बढिरहेको छ। पर्वत अस्पतालको तथ्याङ्क अनुसार अहिले दैनिक करिब दुई सय जनाको ओपिडीमा स्वास्थ्य परीक्षण हुने गरेको छ।

तीमध्येका अधिकांश रुघा, खोकी, ज्वरो, हातखुट्टा खाने, टाउको दुख्ने, लगायतका लक्षण भएका ‘भाइरल फिवर’ का बिरामीहरू रहेका छन्। ‘डेंगु’ र ‘भाइरल फिवर’ को लक्षण एकै प्रकारको हुने भएका कारण परीक्षणका लागि आएका धेरैले डेंगुको शङ्का गरे पनि उनीहरू ‘भाइरल फिवर’ का बिरामीहरू रहेका छन्। उनीहरूको उपचार पनि एकै प्रकृतिको हुने र प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गरेमा विस्तारै निको उपाध्यायले बताए।

पर्वत अस्पतालका अनुसार स्वास्थ्य परीक्षणको लागि आएका एकजना बिरामीमा ‘स्क्रब टाइफस’ को पनि पुष्टि भएको छ। ‘स्क्रब टाइफस’ ‘ओरिन्सिया सुसुगामासी’ नामक ब्याक्टेरियाको कारणले हुने गर्छ।

यो ब्याक्टेरियालाई मुसाबाट मानिसमा ‘चिगर माइट’ किर्नोले सार्ने गर्दछ। ‘स्क्रब टाइफस’ हुँदा उच्च ज्वरो आउने, असाध्य टाउको दुख्ने, आँखाको सेतो भाग रातो देखिने, कानमा कृत्रिम आवाज सुन्निने, सास फेर्दा असहज महसुस हुने, शरीरमा बिबिरा देखिने, पसिना आउने लगायतका लक्षणहरू देखा पर्ने चिकित्सकहरूले बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.