|

बैतडी : हिन्दू नेपालीहरुको महान चाड बडा दशैं आज शुरु भएको छ। आज दशैंको पहिलो घटस्थापनासँगै बडा दशैं शुरु भएको हो।

दशैं शुरु भएसँगै सुदूरपश्चिमका जिल्लामा चहलपहल बढेको छ। देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्थापना गर्ने चलन रही आएको भए पनि बैतडीसहित सुदूरपश्चिममा सामूहिक रुपमा मन्दिरहरूमा जमरा राख्ने चलन रही आएको निङ्गलाशैनी मन्दिरका पुजारी देवदत्त भट्टले बताए।

मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन वर्षौं पहिलादेखि शुरु भएको र यसले सामाजिक सद्भावको विकास सहयोग पुर्‍याउने विश्वास छ।

जिल्लाका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिरमा सामूहिक रुपमा जमरा राखिएको छ। महारुद्र, उदयदेव, सिगास, दोगडा, केदार लगायतका मन्दिरहरूमा सामूहिक रुपमा जमरा राखिएको छ।

दशैं सामाजिक सद्भावको पर्व भएकाले यो समयमा सामूहिक रुपमा मन्दिरमा जमरा राख्ने चलन रही आएको दशरथचन्द नगरपालिका वडा नं २ का स्थानीय रमेश बोहराले बताए। मन्दिरमा जमरा राखेर सामूहिक रुपमै पूजाआजा गर्ने चलन रही आएको बोहराले जानकारी दिए।

घटस्थापनाका दिन राखिएको जमरालाई धेरैजसो ठाउँमा अष्टमीका दिन काट्ने चलन रही आएको छ। जमरा राखिएका मन्दिरमा रातमा समेत जाग्राम बसेर पूजाआजा गर्ने चलन रही आएको छ। जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ।

दशैंको अवसरमा नवरात्री उपासना गरेर पूजाआजा गर्ने चलन रही आएको छ। दशैंका बेला शक्तिपीठहरूमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ।

दशैंको समयमा सामूहिक रुपमा पूजापाठ गरिने भएकाले घरबाहिर भएका, बसाइँसराई गरेर गएकाहरु पनि फर्कने गरेका छन्। यसले गर्दा गाउँघरमा रमाइलो हुने गरेको छ।

नेपालीको महान चाड दशैं शुरु भएसँगै बैतडीलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेको देवी तथा अन्य देवताका मन्दिरहरूमा पूजाआजा गर्नेको घुँइचो लागेको छ। देशका अन्य भागमा दशैंमा खानपिन रमाइलो गर्ने चलन रहेको भए पनि सुदूरपश्चिमका जिल्लामा पूजापाठ गर्ने, जाग्राम बस्ने लगायतका चलन  रहेकोले यहाँका शक्तिपीठमा दर्शनार्थीको घुँइचो लागेको हो।

सुदूरपश्चिममा दशैंको बेला खानपिनभन्दा भक्तीभावमै बढी केन्द्रित हुने गरेको संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए। सुदूरपश्चिममा मनाइने दशैं सात्विक हिसाबले मनाइने गरेको छ।

उहाँले भने‚ ‘सुदूरपश्चिम क्षेत्र सत्यको भूमि भएकाले यो बेला शक्तिकी अधिष्ठात्री देवी भगवतीको सात्विक हिसाबले पूजन हुन्छ। मानसरोवर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रका मनाइने चाडपर्वहरू सात्विक हिसाबले मनाउने चलन रहेको छ।’

नवरात्र शुरु भएसँगै बैतडीका विभिन्न शक्तिपीठ र देवताका मन्दिरमा पूजाआजा शुरु भएको हो। धेरैजसो नागरिकले नवरात्रका १० दिनसम्म चोखो भोको रहेर पूजापाठ गर्ने चलन रही आएको छ।

सुदूरपश्चिममा दशैंलाई गौरा पर्वसँगै जोडेर हेर्नुपर्ने र भदौ महिनामा गौरीका पूजा गरेजस्तै अश्विन शुक्ल पक्षमा पनि सात्विक हिसाबले शक्तिकै पूजा गर्ने चलन रहेको छ। पितृ पक्षबाट नै शुद्ध शाकाहारी भोजन शुरु गरेका श्रद्धालुहरूले नवरात्रको १० दिनसम्म एकछाक मात्रै खाएर नवरात्र उपासना गर्ने गरेका छन्।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.