|

पर्वत : मोदी गाउँपालिका–५ बाजुङका गुराँस बारीका ३९ वर्षीय गंगाबहादुर क्षेत्री १३ वर्ष कतारमा बसेर नेपाल फर्किएका व्यक्ति हुन्।

चाख लाग्दो त यो छ की ‘लेवर’ को रूपमा मासिक पाँच सय रियल कमाउने सम्झौतामा गएका उनी इन्जिनियरिङको क्षेत्रमा आउने ‘सर्भेयर’ बने। कतार छोडेर नेपाल फर्किने बेलामा उनको मासिक तलब नेपाली झण्डै एक लाख रुपैयाँ थियो।

गएपछि काम सिकेर सडक र पुलको ‘सर्वे’ गर्ने अनुभव सँगालेका क्षेत्री अहिले गाउँमै छन्। कतारबाट आएर गाउँमा बसेको बेलामा गाउँपालिकाको पशु शाखा गाउँमा नै आयोजना गरेका तालिममा सहभागी हुने मौका पाए। गाइ पालनको बारेमा सुनेका उनलाई गाउँमा नै बसेर गाई पाल्ने अनि ७३ वर्षीया आमा सहितको परिवारमा सँगै रहने चाहना बढ्यो।

उनी नेपाल आएर नफर्किएपछि कतारको कम्पनीले उनलाई मासिक डेढ लाख रुपैयाँसम्म हुने गरी तलब दिने बताएर फिर्ता आउन भने पनि फिर्ता नगएको गंगाबहादुर सुनाउँछन्।

‘जाँदा त लेवर नै हो म। काम गर्दा गर्दै जाँदा काम सिकियो। सडक र पुलमा सर्वे गर्न पठाउँथ्यो। म आउने बेलामा महिनाको नेपाली एक लाख जति तलब थियो। आएपछि गाउँमा भएका केही तालिममा बसियो, मलाई त गाई पो पाल्न मन लाग्यो', उनले भने, ‘पछि एक फेरि बोलाएर डेढ लाख जति दिउँला भनेको थियो। तर मलाई के भो के भो गाई पाल्न छाडेर पैसा कमाउन जान्छु भन्नै नै मनबाट आएन।’

वृद्ध आमा सहित श्रीमती र दुई छोराको साथमा रहेर खुसी साट्न पाउँदा पनि उनलाई विदेशी भूमिमै फर्किएर बुढो भएर नेपाल आउन मन लागेन। बुढी भएकी आमाको साथमा रहेर सेवा गर्न पाउनु भाग्यको कुरा भएकाले पनि आफूलाई देश छोड्न मन नलागेको क्षेत्री बताउँछन्।

२०७५ सालको जेठमा पोखराबाट चार वटा होलस्टेन जातका गाई ल्याएर व्यवसाय सुरु गरेका उनको गोठमा अहिले ११ वटा गाई र तीन वटा भैँसी गरेर १४ वटा छन्। दैनिक करिब ५५ लिटर दूध उत्पादन गर्दै आएका गंगबाहादुरका श्रीमान् श्रीमतीले नै सबै काम गरेर भ्याउने गरेका छन्।

बिहान चार बजे उठेपछि गोठालो धन्दाको काम सुरु गर्ने उनीहरूले छ बजेभित्रमा गाईलाई कुँडो र घाँस खुवाउने काम सकेर गाई भैँसी दुहिसकेको हुनुपर्छ। छ बज्दासाथ ग्राहकहरू दूध किन्नका लागि आउने र आफूहरू ‘होम डेलिभरी’ मा जानुपर्ने उनले सुनाए।
क्षेत्रीले झण्डै १० लिटर दूध गाउँमा बेचेपछि बाँकी रहेको ४५ लिटर दूध गाउँबाट जिपमा झण्डै एक घण्टामा पुग्न सकिने पातीचौर बजारमा रहेको दुग्ध सहकारीमा पठाउने गरेका छन्। कतारमा डेढ लाख दिन्छु भनेर बोलाए जतिकै कारोबार अहिले गाउँमा नै बसेर गर्न पाउँदा १३ वर्षको समय पनि विदेशमा किन खर्चिएँ भन्ने पश्चात्तापमा उनी छन्।

‘विदेशमा डेढ लाख दिन्छु भनेको हो। अहिले मासिक डेढ लाख जतिको कारोबार यहीँ गरिरहेको छु। कारोबारको लगभग आधा जति बचत हुन्छ। आधा जति दाना, पराल, लगायतका कुरामा गाई भैँसीकै लागि खर्च हुन्छ', उनी भन्छन्, ‘१३ वर्षसम्म विदेशमा दुःख त गरियो, तर १३ वर्ष अगाडि नै मैले यही काम आँटेको भए त्यति धेरै वर्ष विदेशमा बस्नै नपर्ने रहेछ।’
एक छोरालाई सदरमुकाम कुश्मा बजारको एक निजी विद्यालयको होस्टलमा राखेर पनि आफूले कसैसँग ऋण माग्न नपरेका कारण आफूले पेसामा सफलता पाएको क्षेत्री बताउँछन्।
गाईपालनबाट सन्तुष्ट रहेका क्षेत्री आफ्नो पेसामा पूर्ण रूपमा सन्तुष्ट छन्। व्यवसाय सुरु गर्ने बेलामा ल्याएका चार वटा गाईले बाच्छीले दूध दिन थालेपछि माउहरू बिक्री भए। बाहिर कतै जन्मिएका गाईले गाउँको चिसो वातावरणमा मिल्न कठिन हुने भएकाले गोठमा जन्मिएका गाई राखेर माउहरू बेचेको उनले सुनाए। पहाडी भेग भएका कारण परालको समस्या भने भोग्नुपरेको क्षेत्रीको भनाइ छ। अहिले पनि चितवनको पराल मगाउँदा ढुवानीमै परालको भन्दा बढी मूल्य पर्ने, गाउँको किन्दा महँगो हुने भएकाले पराल खरिदको बेलामा समस्या हुने उनले बताए।

पालिकाले युवा स्वरोजगार कार्यक्रमबाट एक लाख रुपैयाँ र कृषि ज्ञान केन्द्रले गोठ बनाउनको लागि पाँच लाख रुपैयाँको  साझेदारी कार्यक्रममा साढे दुई लाख दिएर आफूलाई प्रोत्साहित गरेको क्षेत्रीले बताए। गाई फार्ममा अहिलेसम्म झण्डै १५ लाख रुपैयाँ बराबरको लगानी पुगिसकेको छ। गोठमा रहेका केही गाईहरू ब्याउने क्रममा रहेकाले आगामी वर्षदेखि मासिक बचत नै एक लाख रुपैयाँ बढी पुर्‍याउने उनको लक्ष्य छ।
कुनै पनि व्यवसाय सुरु गर्दा बित्तिकै नाफा नहुने भएकाले व्यवसायमा नआत्तिन उनले सुझाव दिन्छन्। निरन्तर मिहिनेत गर्दै गएपछि लगानी उठ्ने र त्यसपछि मात्रै नाफा चलिने भएकाले सुरुमै हतास हुन नहुने क्षेत्रीले बताए।

 ‘नाफा हुन्छ,  नाफा भएन भनेर एक दुई वर्षमा आत्तिने हो भने त के गरेर खाने त? सबैभन्दा छिटो नगद उत्पादन दिने भनेको गाई भैँसी पालन नै हो', उनले भने, ‘बिहान किनेर ल्याएर गोठमा बाँध्यो, बेलुकाबाट दुहेर बेच्न सुरु गरे पैसा आयो। तर दुःख हुन्छ भनेर डराउनेहरूले सुतेर जीवन फाल्न सम्भव छ र? दुःख हुन्छ भनेर काम नगरी बस्नु भनेको घाँटीलाई दुःख हुन्छ भनेर श्वास नफेरी बसे जस्तै हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.