|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूचीमा सूचीकृत उम्मेदवारले आज आफ्नो नाम फिर्ता लिन पाउने भएका छन्। 

निर्वाचन आयोगका अनुसार दलहरुले हिजोसम्ममा पेश गरेको संशोधित बन्दसूचीबाट आफ्नो नाम हटाउन चाहने उम्मेदवारले आज आयोगमा निवेदन दिन सक्नेछन्। निवेदनका लागि बिहान १० बजेदेखि १२ बजेसम्मको समय निर्धारण गरिएको छ। आफ्नो नाम सूचीबाट हटाउन चाहने उम्मेदवारको निवेदन परेमा आयोगले आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा सम्बन्धित दललाई जानकारी दिने कार्यतालिका छ। 

उम्मेदवारले नाम फिर्ता लिएका कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली असोज २० देखि २२ गतेभित्रमा सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्नुपर्नेछ। 

निर्वाचन कार्यक्रमअनुसार असोज २२ गते नै दिउँसो ३ बजेदेखि ५ बजेसम्म आयोगले उम्मेदवारको बन्दसूची प्रकाशन गर्नेछ। त्यस्तै असोज २३ गते बन्दसूचीमा उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिन सकिनेछ।

आयोगले असोज ३० गते देखि कात्तिक ७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दाबी विरोधको निवेदनमा जाँचबुझ र निर्णय गर्नेछ। कात्तिक ८ गते बन्दसूचीबाट नाम हटाउने र ९ गते अन्तिम सूची प्रकाशित गर्ने कार्यतालिका छ। यस्तै प्रत्यक्षतर्फको मनोनयन असोज २३ गते हुने निर्वाचन कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.