|

कञ्चनपुर : आज दशैंको महानवमी। कञ्चनपुरका थारु समुदायले कुखुरा पुजेर महानवमी मनाएका छन्। बिहानै नदी तलाउमा नुहाएर शुद्ध भै थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ति बालेर कुखुरा पुजेका छन्। कुखुरा पुज्नुअघि देउथानमा रहेका देवताहरुको अगाडि भात, तरकारी, घरैया रक्सी (घरमै बनेको मदिरा), पानी राखेर पूजा गरिएको मान बहादुर चौधरीले बताए।

उनका अनुसार टपरीमाथि बह्रनी, जमरा, वेवरी आदि चढाउनु पर्छ। यसरी चढाईएका खाद्य पदार्थ पितृहरुले आएर ग्रहण गर्ने विश्वास थारु समुदायमा रहेको छ। सिन्दुरले देवताहरुलाई टीका लगाई जल, दूध, मदिराको धार देवतामा चढाउनु पर्छ। त्यसपछि मात्रै कुखुरा पुज्ने गरिएको चौधरीले बताए।

‘दुईदेखि पाँचवटा कुखुराको भाले अलग अलग देवतालाई मन्त्र उच्चारणसँगै विधिविधानअनुसार बलि चढाउनु पर्छ‚’ पहरु दहितले भने, ‘बलि चढाएपछि धूप, बेवरी, जमरा चढाई दूध, पानी, घरैया दारुको धार चढाई मुर्गा पूज्ने क्रम सकिन्छ।’

कुखुरा पुज्ने काम सकिएपछि घरका सबैजना सँगै बसेर सामुहिक रुपमा भोजन गर्छन्। पितृलाई चढाईएका सामग्री नजिकको नदी, तलाउमा विसर्जन गर्न नृत्य टोलीसहित थारु समुदायका व्यक्तिहरु जाने गर्छन्। जसमा महिलाहरुको सक्रियता बढी रहने गर्छ। यस क्रममा नाचगान गरी रमाइलो गर्ने चलन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.