|

काठमाडौं : संयुक्त राज्य अमेरिका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस बर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन्। 

अमेरिकी क्यारोलिन बर्टोजी र ब्यारी शार्पलेस तथा डेनमार्कका मोर्टेन मेल्डललाई ‘क्लिक केमेस्ट्री र बायोओर्थोगोनल केमेस्ट्री’को विकासका लागि सम्मान गरिएको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार समितिले बुधबार जनाएको छ।

यस वर्ष हालसम्म नोबेल पुरस्कार विजेता सात वैज्ञानिकमध्ये बर्तोजी एक मात्र महिला वैज्ञानिक हुनुहुन्छ। पुरस्कारको इतिहासमा विशेष गरी विज्ञान विषयहरूमा महिलाहरूको प्रतिनिधित्व निकै कम हुने गर्छ। 

तीनजना विजेताले एक करोड स्विडिश क्रोना अर्थात् ८ लाख पाउन्ड बराबरको पुरस्कार रकम बाँडेर लिनेछन्। गत वर्षको पुरस्कार दुईजना रसायनशास्त्रीले संयुक्त रूपमा प्राप्त गरेका थिए।

सन् २००१ मा रसायनशास्त्रमा नोबेल पुरस्कार जितेका ८१ वर्षीय शार्पलेसका लागि यो दोस्रो नोबेल पुरस्कार हो।  सन् १९०३ मा पहिलो पटक भौतिकशास्त्रको पुरस्कार जितेपछि सन् १९११ मा रसायनशास्त्रको पुरस्कार जितेकी पोल्याण्डमा जन्मिएकी फ्रान्सेली महिला मेरी क्युरीसहित अन्य चार जनाले मात्र दुई पटक नोबेल पुरस्कार जितेका छन्।

उनीपछि सन् १९५४ मा रसायनशास्त्र र सन् १९६२ मा शान्तिका लागि अमेरिकी लिनस पाउलिङले अवार्ड जितेका थिए। अमेरिकाका जोन बर्डिनले सन् १९५६ र १९७२ मा भौतिकशास्त्रको पुरस्कार जितेका थिए भने बेलायतका फ्रेडरिक सेङ्गरले सन् १९५८ र १९८० मा रसायनशास्त्रको पुरस्कार जितेका थिए। 

यो वर्षको भौतिकशास्त्रतर्फ दिइने नोबेल पुरस्कार क्वान्टम मेकानिक्सबारे अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई दिने मङ्गलवार घोषणा गरिएको थियो। सोमवार चिकित्साशास्त्रसम्बन्धी नोबेल पुरस्कार मानव विकासक्रमसम्बन्धी काम गरेका वैज्ञानिक स्भान्ट पेयर्बुलाई प्रदान गर्ने घोषणा गरिएको थियो।

 बिहीवार साहित्यतर्फ र शुक्रवार शान्ति तर्फका विजेताका नाम घोषणा गरिनेछ। आउँदो सोमवार अर्थशास्त्र तर्फका विजेताका नाम घोषणा गरिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.