|

त्रिवेणी : लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ।

रातिदेखि नै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गरी ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिए। 

लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा यसले क्षति पुर्‍याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो । रानाका अनुसार बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालिस हजार क्युसेक पुगेको छ। 

गण्डक ब्यारेजमा पानीका सतह बढ्दो क्रममा रहेको र हुनसक्ने जोखिमीलाई मध्यनजर गरी समन्वय गरिरहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का  प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए।

गण्डक ब्यारेजमा नारायणी नदीको जलसतह हेरेर आवश्यकताअनुसार ढोका खोल्ने उनले बताए। पानी पर्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रूपमा रहन उनले आग्रह गरे। 

गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ। पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै ब्यारेजका २२ वटा ढोका खोलिएको हो।

बाढी सूचना केन्द्रले नारायणी नदीको जलाधार क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गदैै नवलपरासी र चितवनका तटीय क्षेत्रमा हुने आज साँझसम्म सतर्कता साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.