|

दैलेख : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दैलेखमा ६ पदमा ३६ जना प्रतिस्पर्धा गर्दै छन्। प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र, प्रदेशसभामा चार निर्वाचन क्षेत्र रहेको दैलेखमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि ६ पदमा ३६ जनाले उम्मेदवारी दिएका छन्। 

निर्वाचन आयोगको कार्य तालिकाअनुसार आइतवार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधिबाट पनि मनोनयन दर्ता गर्न सकिने व्यवस्थाअनुसार दैलेखका दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका ६ पदमा ३६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

दैलेखका मुख्य निर्वाचन अधिकृत बलराम लम्सालका अनुसार प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन क्षेत्र नं १ मा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नं २ मा ५ जना गरी १४ जनाले प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन क्षेत्र नंं १ अन्तर्गत २ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा २ पदका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश (क) र प्रदेश (ख) मा ५÷५ जना गरी १० जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ।

यसैगरी २ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको निर्वाचन क्षेत्र नं २ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (क) मा ७ जना र प्रदेशसभा (ख) मा ५ जना गरी १२ जनाको उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय दुल्लुले जनाएको छ।

कुन पार्टीबाट को ?

दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि रवीन्द्रराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्।

सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कुन्तीकुमारी शाही, नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा, नेपाली काँग्रेस (बिपी)का भूपालबहादुर थापाले उम्मेदवारी दिएका छन्।

प्रतिनिधिसभा सदस्यकै लागि दैलेख क्षेत्र नं १ मा ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवारी दिनेमा निरखबहादुर थापा, गणेशबहादुर शाही र गोपाल नेपाली रहेका छन्।

निर्वाचन क्षेत्र नंं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट लक्ष्मीप्रसाद पोखरेल र सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका दिकपाल शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर भण्डारी, मजदुर किसान पार्टीका केसेन्द्रप्रकाश कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्रराज गिरीले उम्मेदवारी दिएका छन्। 

प्रदेशमा को कहाँबाट 
दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेख क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (क) मा काँग्रेसका पूर्णबहादुर खत्री, एमालेका धर्मराज रेग्मी, नेपाल मजदुर किसान पार्टीका जगत् ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका हृदयराज शाही र स्वतन्त्र चित्रबहादुर खत्रीले उम्मेदवारी दिएका छन्।

क्षेत्र नं १ प्रदेशसभा (ख) बाट नेकपा एमालेका प्रेमबहादुर थापा, काँग्रेसका कृष्णकुमार बिसी, मजदुर किसान पार्टीबाट लक्ष्मीकुमारी सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रणबहादुर सिंह र टेकबहादुर खानले स्वतन्त्र उम्मेदवारी दिएका छन्। खान समाजवादीका केन्द्रीय सदस्य समेत हुन्।

यसैगरी क्षेत्र नं २ प्रदेशसभा (क) बाट काँग्रेसका घनश्याम भण्डारी, एमालेका तिलकप्रसाद रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका यज्ञबहादुर थापा, हाम्रो नेपाल पार्टीका प्रेमबहादुर भण्डारी, मजदुरका मदनकुमार भण्डारी, स्वतन्त्रमा पुरुषोत्तम रिजाल र चक्रलाल सुनारले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। 

क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (ख) मा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाट विनोदकुमार शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाही, मजदुर किसान पार्टीका जयबहादुर थापा, माओवादी केन्द्रका योगेन्द्रबहादुर शाही र स्वतन्त्रमा राजेशकुमार शाहीले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.