शिक्षाविद भन्छन्- लामो बिदा दिने प्रथा अन्त्य गर्नुपर्छ

|
फाइल तस्बिर

काठमाडौं : घटस्थापनादेखि नै सरकारी विद्यालय बन्द छन्। यो बिदा छठसम्म रहनेछ। छठपछि पनि विद्यालय करिब १५ दिनमात्रै खुल्छन्। त्यसपछि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन यही मंसिर ४ गते हुँदै छ। यही निर्वाचनका कारण विद्यालय फेरि बन्द हुनेछन्।

दशैँ, तिहार र निर्वाचनका कारण करिब डेढ महिना विद्यार्थीहरू पढ्नबाट वञ्चित हुने भएका छन्। यति लामो समय विद्यालय बन्द रहँदा बालबालिकाहरूले पहिला पढेका कुराहरू बिर्सिन्छन्। लामो बिदामा पहिला पढेका कुराहरू बिर्सन नदिन विज्ञहरूले विभिन्न सुझाव दिएका छन्।

शिक्षाविद् केदारभक्त माथेमा यस्तो लामो बिदामा होमवर्क दिए पढाइसँग उनीहरू जोडिने बताउँछन्। उनी भन्छन्, ‘यो रमाइलो गर्दै मनाउने चाडबाड हो, त्यसैले धेरै होमवर्क दिएर बालबालिकालाई तनाव पनि दिनु हुँदैन। तै पनि पढाइप्रति आकर्षित गराउन दशैँ, तिहार, छठबारे कसरी मनाइन्छ, किन महत्व छ भनेर सीमित शब्दमा लेख्न लगाउँदा पढाइमा जोडिन्छन्, उत्सुकता पनि जगाउँछ।’

उनका अनुसार गणित विषयको भए १०/१० वटा च्याङ्‍ग्रा, खसीको कति मूल्य पर्छ भनी यसबारे लेख्न लगाउनुपर्छ। ‘अभिभावकहरूले पनि केही समय बालबालिकालाई समय दिएर घरमा पढ्न लगाउनुपर्छ, शिक्षित अभिभावक भए जानेका कुराहरू सिकाउँदा भयो। यसो गर्दा बालबालिकाहरूले पढेका कुराहरू बिर्सिँदैनन्,’ उनले भने।

उनका अनुसार अलिक माथिल्ला कक्षाका बालबालिकाहरूले नजानेका कुराहरू मोबाइलमार्फत अथवा एसएमएस, म्यासेन्जरलगायत एपका माध्यमबाट शिक्षकहरूलाई सोध्नुपर्छ। यसमा शिक्षकहरूले सहजीकरण गर्नुपर्छ।

‘कामको माध्यमबाट सिकाउनुपर्छ’

अर्का शिक्षाविद् प्राडा विनयकुमार कुसियत विद्यालयको बिदा लामो भए अभिभावकहरूले आफ्ना बालबालिकालाई पढाइमा व्यवस्थापन गर्नुपर्ने बताउँछन्। ‘लामो बिदा भए मुख्य त कामबाट सिकाउनु/सिकाइ गराउनुपर्छ, कोचिङ गराउन सकिन्छ। यसबारे  अध्ययन गराउनुपर्छ,’ उनले भने। 

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले दशैँ तिहारका लागि होमवर्क दिइएकाले अध्ययनबाट बालबालिका नटाढिने बताइन्। उनका अनुसार पहिला अध्ययन गरिएको पाठबाटै होमवर्क दिइएको छ। यसले सम्झिन सहज बनाउने छ।

उनले भनिन्, ‘शिक्षकहरूले दशैँ, तिहार पनि मनाउनुसँगै समयअनुसार होमवर्क दिन लगाइएको छ, यसले पनि पहिला पढेका कुराहरू सम्झिन सहयोग पुग्छ।’

लामो बिदा दिने प्रचलन अन्त्य गर्नुपर्छ : शिक्षाविद्

शिक्षाविद्हरू दशैँ तिहारको लामो बिदामा कसरी बालबालिकाको पढाइ व्यवस्थापन गर्नेभन्दा पनि लामो बिदा दिने यो प्रचलन नै अन्त्य गर्नुपर्ने बताउँछन्।

शिक्षाविद् माथेमा भन्छन्, ‘दशैँ र तिहारको लागि २०/२५ दिन बिदा दिने प्रचलन नै गलत छ, यसो गर्दा विद्यार्थीहरूको पढाइमा असर पुग्छ। दशैँमा ५/६ दिन, तिहारमा ३ दिन र छठको लागि आवश्यकताअनुसार बिदा दिँदा भइहाल्छ, लामो बिदा दिने काम राम्रो नै होइन।’

उनका अनुसार यहाँ अधिकांश घरनजिकै भएका शिक्षकहरू विद्यालयमा पढाउँछन्। त्यस्तो अवस्थामा लामो बिदा दिनु हुँदैन। तर विश्वविद्यालयमा होस् या विद्यालयमा आवश्यकताभन्दा बढी बिदा दिने चलन छ।

‘तराईतिरको शिक्षक पहाडमा भयो भने र पहाडको शिक्षक तराइमा भयो भने चाहीँ लामो बिदा चाहिन्छ होला तर यस्तो बेला आवश्यकताअनुसार बिदा मिलाउनुपर्छ,’ उनले भने।

उनले गर्मी र जाडाेमा शिक्षकहरूलाई बिदा दिइने भएकाले शिक्षकहरूलाई लामो बिदा दिनु आवश्यक नरहेको बताए। शिक्षाविद् कुसियतले पनि लामो बिदा दिनु उचित नभएको भन्दै यसको गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए।

बिदा लामो भयो भने स्थानीय सरकारले वैकल्पिक सिकाइ योजना ल्याउनुपर्ने उनको माग छ। ‘बिदाको बेला कसरी पढाइमा समावेश गर्ने भनेर वैकल्पिक सिकाइ योजना ल्याउनुपर्छ, नभए यसरी लामो बिदा दिनुहुँदैन,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.