|

जुम्ला : सिंजाका ३ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ। बाढी र पहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको भन्दै हिमा, सिंजा  र कनकासुन्दरी गरी ३ पालिकालाई संकटग्रस्त  क्षेत्र घोषणा गर्न सरकारसँग माग गरिएको हो।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जनधनको अत्यधिक क्षति भएकाले संघीय सरकारलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आह्वान गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए।

उनले भने, ‘जिल्ल्ला विपत व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को (१) बमोजिम जुम्ला जिल्लाका कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकाको वडा नम्बर १, ३, ४, ६, ७ र ८, तिला गाउँपालिका वडा नम्बर १, २, ३, ४‚ ६ र ७, गुठिचौर गाउँपालिकाको वडा नम्बर  १ र २ र पातारासीको ३ नम्बर वडालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिश गरि पठाईएको छ। बाढी र पहिरोले जुम्लामा १ हजार ६७५ जना विस्थापित भएका छन्।’

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार ३१६ घरमा पूर्ण क्षति, ४४० घर उच्च जोखिममा, ७२६ घरमा आशिंक क्षति भएको छ। जिल्ला प्रशासनका अनुसार  जुम्लामा बाढी पहिरोले १० जनाको मृत्यु भएको र एकजना बेपत्ता भएका छन्।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा यस पटक क्षति भएको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ। २०७९ असोज १९ गतेदेखि परेको अविरल वर्षा र बाढीले अवरुद्ध भएको कर्णाली राजमार्ग अहिलेसम्म सञ्चालनमा आएको छैन।

जिल्लाको सबै जनशक्ति प्रयोग गरेर सड्क खोल्न प्रयास भईरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। ठाउँ ठाउँमा पहिरो गएकाले अवरुद्ध भएको र त्यसको सफाई भईरहेको स्थानीय तहहरूले जनाएका छन्।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजा गाउँपालिकाको कार्यालय, प्रहरी चौकीसमेत डुबानमा परेको बताए। हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको बुअ, बड्की, मोफ्ला र खलढुंगा लगायतका गाउँमा बाढी पहिरोले गाउँले विस्थापित भएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.