|

काठमाडौं : शुक्रबारदेखि नेपाली तथा विदेशी गरेर पाँचवटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म हिजो आजका कुरा, हिन्दी फिल्म डक्टर जि, तेलुगु फिल्म गडफादर, कन्नड फिल्म कान्तारा र जापानी एनिमेसन फिल्म वान पिसः रेड एकसाथ प्रदर्शनमा आएका हुन्। 

चर्चित टेलिशृंखला नाम र थिम लिएर अहिलेको समयसँग सान्दर्भिक हुने गरी बनाइएको फिल्म हिजो आजका कुरा साकार पन्तको निर्देशनमा बनेको हो। कमेडी ड्रामा जनरामा बनेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, दिव्य देव लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। मल्टिप्लेक्समा ८ देखि १५ प्रतिशतसम्म शो पाएको फिल्ममा पहिलो दिन दर्शकको उपस्थिति औसत देखिएको छ। 

त्यस्तै एक्सन एडभेन्चर जनरामा बनेको जापानी एनिमे फिल्म वान पिसः रेडले सबैभन्दा बढी शो पाएको छ। २५ देखि ३० प्रतिशतसम्म शो पाएको फिल्ममा दर्शकको उपस्थिति पनि अन्य फिल्मको तुलनामा बढी देखिएको छ। फिल्मको बिहानीको शोमा पनि ८० देखि सय प्रतिशतसम्मको अकुपेन्सी देखिएको छ। 
गोरो तानिगुचीको निर्देशनमा बनेको फिल्ममा चो, जिम फोरोन्दा, हिरोआकी हिराता लगायतका कलाकारले आवाज दिएका छन्। जापानमा गत अगस्टमै प्रदर्शन भएको फिल्मले व्यावसायिक रूपमा राम्रो प्रदर्शन गरेको छ। 

वान पिसः रेडपछि कान्तारामा दर्शकको चाप सबैभन्दा बढी देखिएको छ। दुई हप्ताअघि कन्नड भाषामा प्रदर्शन भएको फिल्मलाई दर्शकले निकै रुचाएपछि हिन्दीसहित तामिल र तेलुगु भाषामा डब भएर शुक्रबारदेखि फिल्म प्रदर्शनमा आएको हो। ऋषब शेट्टीको लेखन, निर्देशन तथा मुख्य भूमिका रहेको फिल्म एक्सन एडभेन्चर ड्रामा जनरामा बनेको छ। फिल्मले हलमा ८ देखि २० प्रतिशतसम्म शो पाएको छ। 

त्यस्तै अनुभुती कश्यपको निर्देशनमा बनेको कमेडी ड्रामा डक्टर जि र मोहन राजाको निर्देशनमा बनेको एक्सन क्राइम ड्रामा गड फादरमा दर्शकको उपस्थिति न्यून देखिएको छ। डक्टर जिमा आयुष्मान खुराना, रकुल प्रित सिंह र सेफाली शाहको मुख्य भूमिका रहेको छ भने गड फादरमा चिरनञ्जिवी, नयनतारा र सलमान खान मुख्य भूमिकामा देखिएका छन्। 

यी बाहेक हलमा प्रेम गीत ३ शुक्रबारदेखि चौँथो हप्तामा प्रवेश गरेको छ भने दुई नम्बरीको दोस्रो हप्ता सुरु भएको छ। प्रेम गीत ३ व्यवसायिक रुपमा ब्लकबस्टर सावित भइसकेको छ भने दुई नम्बरीले पनि पहिलो हप्तामै लगानी सुरक्षित गरिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.