|

बाँके :  बैजनाथ गाँउपालीकामा रहेको लक्ष्मी प्राथमिक विद्यालयको भौतिक पूर्वाधारहरूको अवस्था दयनीय बनेको छ।

गाँउपालिका- ८ गुरदयालपुरको श्री लक्ष्मी प्रथामिक विद्यालयको अवस्था पनि डरलाग्दो छ। भौतिक संरचनाहरू जीर्ण अवस्थामा छन्।  वि.सं. २०४० सालमा स्थापना भएको विद्यालयलाई राम्रोसँग संरक्षण गर्न नसके पछि विद्यालयको भौतिक अवस्था हेर्न लायकको छैन।

बाँके र बर्दियाको मानखोलाको छेउमा रहेको यो विद्यालयको सुरुवाती चरणमा भौतिक संरचना राम्रो हुँदा विद्यार्थी संख्या उल्लेख्य भएपनि पछिल्लो समयमा निजी विद्यालयका कारण विद्यार्थीहरू वर्षेनी घटीरहेका छन्।

विद्यार्थीहरू भत्किएका भौतिक संरचनामा नै डराएर अध्ययन गर्न बाध्य अवस्था रहेको स्थानीयहरूको गुनासो छ। अहिले विद्यालयको भौतिक संरक्षण र सुधार हुन नसक्दा विद्यार्थीहरू नै बाध्य भएर निजी विद्यालय रोज्ने गरेको सञ्चालकहरू नै बताउँछन्।

गुणस्तरीय शिक्षा र सेवा सुविधाको खोज्दै अभिभावकहरू निजी विद्यालय रोज्न थालेपछि विद्यालयको भौतिक संरचना जीर्ण बन्दै गएको बताउछन् बैजनाथ गाँउपालिका- ८ का कार्यवाहक अध्यक्ष शुक्रबहादुर रावत। उनका अनुसार ५ वर्षमा विद्यालयमा १ लाख मात्र बजेट विनियोजित भएको छ। विद्यालयको फर्निचरको लागि वडा कार्यालयले ५ वर्षमा मात्र १ लाख रुपैयाँ दिएको बताए।

विद्यालय सुधारका लागि हालसम्म कुनै निकायले चासो नदेखाएको प्रध्यानध्यापक सुरेशकुमार थारुले बताए।

उनका अनुसार विद्यालयमा ५ कक्षासम्म पढाइ भएपनि भौतिक संरचना जीर्ण हुँदा र सामुदायिक विद्यालयमा सरकारले चासो नदिँदा जम्मा ४६ विद्यार्थी रहेको बताए। स्थानिय सरकारसँग बारम्बार पहल गर्दासमेत विद्यालयको भौतिक प्रगति गर्न नसकेको उनको भनाइ छ।

स्कुल विकास समितिका सदस्य राधेश्याम थारूले विद्यालय विकास समितिले विद्यालयको मर्मतसम्भारका लागि वडाबाट अहिलेसम्म १ लाख रुपैयाँ मात्र उपलब्ध भएको बताए।

यसअघिको विकास समितिले केही नगरेपनि पछिल्लो विद्यालय विकास समितिले निरन्तर विद्यालयको रेखदेखका लागि आवश्यक पहल थालेको  उनले जानकारी दिए। उनले विद्यालय स्थापना भएको ४ दशक पुग्दासमेत कुनै भौतिक संरचना र विद्यालयको कुनै विकास निर्माण हुन नसक्नु भनेको देशकै लागि लज्जाजनक विषय भएको बताए।

विद्यालयका सबै भवनहरू भत्केर जीर्ण छन् तर मर्मत हुने छाँटकाँट देखिँदैन। आवश्यक सामग्रीहरू पनि विद्यालयमा पर्याप्त नरहेको उनीहरूको भनाइ छ। भत्किएको भवनमा पानी चुहिने, हावाहुरी चल्दा टिनको छानोहरू नै उडाउने जस्ता समस्या रहेको उनीहरू बताउँछन्। विद्यालयको पूर्वाधार जीर्ण भएको छ भने गुणस्तरीय शिक्षा सुधार्न कतैबाट सहयोग नमिलेको स्थानीयहरूको भनाइ छ। विद्यालयमा अहिले भौतिक पूर्वाधारको अभाव देखिएकाले गतिविधि पनि शुन्य जस्तै छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.