|

भैरहवा : जजिरा एअरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ। यात्रु नभएको भन्दै जजिराले दैनिक उडान सातामा तीन पटक गर्ने भएको छ। 

एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि वैदेशिक रोजगारीमा जानेसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए। यात्रु विमानस्थलमै रातभर बसेर कुरे पनि जजिराले उडान गरेन। तीन दिनसम्म जम्मा भएका यात्रुमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा उडान भरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए। 

दाहालले जजिरा एयरवेजको आधिकारिक प्रतिनिधिले जहाजको लिज सकिएको र नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको कारण नियमित उडान प्रभावित हुने जानकारी गराएको बताए। उनले अक्टोबर महिनामा जजिराले नियमति उडान गर्न नसक्ने बताउँदै त्यसपछि उडान नियमित हुने आश्वासन दिएको बताए। 

‘जजिराले आफ्ना नयाँ जहाज लिन केही समय लाग्ने भन्दै केही समय उडान रोक्ने बताएको थियो। उडान नै रोक्दा यात्रुलाई समस्या हुने भएकाले दैनिक रूपमा उडान गर्न नसके पनि एक दिन बिराएर उडान गर्ने सहमति भएको छ’, दाहालले भने, ‘तीन दिनसम्म उडान नहुँदा यात्रु रोकिएका थिए। शनिबार जजिराले उडान गरे पछि केही समस्या हल भएको छ।’

एयरवेजका कन्ट्री म्यानेजर अमित नागरथले भने यात्रु नपाएको कारण उडान कम गर्नु परेको बताए। ‘पहिला सातामा तीन वटा उडान गरिरहेका थियौँ, राम्रै यात्रु पायौँ’ नागरथले भने ‘अहिले यात्रु संख्या साह्रै घटेकाले उडान घटाएका हौँ। अब पहिले झैँ सातामा तीन उडान गर्नेछौँ।’

नागरथले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा माग नै नरहेको दाबी गरे। ‘मागअनुसार नै आपूर्ति गर्ने हो। खाली विमान कहिलेसम्म उडाउने?’ उनले भने, ‘आफ्नो खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउदैनौँ।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.