काठमाडौं : नेपालमा वैकल्पिक शक्तिको रुपमा उदाएको विवेकशील साझा पार्टी नेता मिलन पाण्डे काठमाडौं– ९ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। सोही क्षेत्रका स्थानीय बासिन्दा रहेका पाण्डे पाइला चुनाव चिह्नबाट चुनाव लड्दैछन्।
पार्टीभित्रको आन्तरिक विवादका कारण कारबाहीमा परेका पाण्डेले साझा पार्टीको चुनाव चिन्हबाट चुनाव लड्ने भएका हुन्। ३१ वर्षदेखि राजनीतिमा सक्रिय नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठलाई पाखा लगाउने तयारीमा रहेका मिलन पाण्डेसँग थाहाखबरका लागि निशेष खनालले कुराकानी गरेका छन्। प्रस्तुत छ पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश :
२०७४ सालको निर्वाचनमा मतदाताले अर्को पटक परिपक्व भएर आउनु चुनाव जिताएर पठाउँछौं भनेर उधारो बचन दिएका थिए। मतदाताले तपाईंको परिपक्वता मापन गर्ने आधार के ?
मेरो प्रतिस्पर्धी उम्मेदवार ३१ वर्षदेखि राजनीति गर्दै आउनुभएका कृष्णगोपाल जी हो। उहाँ हाल ८ औं पटक चुनाव लड्दै हुनुहुन्छ। गएको पाँच वर्षमा उहाँले कति ‘ग्रोथ’ गर्नुभयो र मैले कति गरें त्यो महत्वपूर्ण पक्ष हो। यो समयमा मैले समसामयिक राजनीतिक विषयमा उठाएका मुद्दा, बहसको हिसाबले, वैकल्पिक राजनीतिलाई स्थापित गराउन, संविधानलाई बचाउन सक्रियता देखाएँ।
संविधानको हत्या हुँदै गर्दा कृष्णगोपाल जीले केपी शर्मा ओली फुटबलको पेले जस्तै हो भनिरहँदा हामी सडकमा थियौं। यी सबै मूल्यांकनले म परिपक्व भएँ र उहाँभन्दा राम्रो उम्मेदवार हुँ भन्ने लाग्छ।
अघिल्लो निर्वाचनमा पार्टी हुँदा पनि ५ हजार मात्रै मत ल्याउनु भयो। पार्टीको सहयोगमा पनि चुनाव जित्न नसक्नुभएको तपाईंले संगठन बाहिरबाट जित्ने आधार के ?
त्यसबेला केही फाइदा र बेफाइदा थिए। अहिले पनि केही फाइदा र बेफाइदा छन्। नागरिकहरूले भेट्दा हामी तपाईंको विचारबाट प्रभावित छौं। मतदाताहरूले वैचारिक स्पष्टता तपाईंको ‘स्ट्रेन्थ’ हो मिलन जी भन्नुहुन्छ। संगठनको हिसाबले हिजोका दिनमा हामीसँग जो–जो साथीहरू हुनुहुन्थ्यो आजपनि उहाँहरू हुनुहुन्छ। अझै धेरै साथीहरू जोडिनुभएको छ।
म चुनाव लडिरहेको निर्वाचन क्षेत्रबाट कांग्रेसको सबैभन्दा धेरै मत रहेको उक्त स्थानबाट नेपाली कांग्रेसले उम्मेदवार नउठाएर मजै आइरहेको छैन। माओवादी केन्द्रले उम्मेदवारी दिएको छ जहाँ उसको संगठन नै बलियो छैन। कृष्णजी आफैं ३१ वर्षदेखि चुनाव लडिरहनुभएको छ। अब त उहाँलाई नै ‘झ्याउ’ लागिसक्यो होला। मेरा मतदाताहरूले ‘फ्रेसनेस’ खोजिरहेका छन्। उहाँहरूले खोजेको फ्रेसनेस म दिलाउन सक्छु।
तपाईंले चुनाव जित्ने आधार के त ?
मैले चुनाव जित्ने आधार मेरा एजेण्डा नै हुन्। दोस्रो हामीले उपलब्ध उम्मेदवार मध्येबाट राम्रो उम्मेदवार को हो भनेर हेर्ने हो। मेरो क्षेत्रमा २२ जना उम्मेदवार हुनुहुन्छ। केही साथीहरू त ‘डमी’ हो। निर्वाचनको दिन गाडी पाइन्छ भनेर हिँडिरहनु भएको छ। उहाँहरू सिरियस हुनुहुन्न।
सिरियस चार पाँच जना उम्मेदवार देखिरहेको छु। त्यो मध्ये वेष्ट उम्मेदवारी मैले प्रस्तुत गरिरहेको छु। नागरिकहरूले मलाई वेस्ट क्यान्डिडेटको रुपमा उभ्याउनुभएको छ। र, तेस्रो आधार नेपालमा मूल दुई धारका पार्टीहरूले डेलिभर गर्न सकेनन्। डेलिभरीको एजेण्डामा उनीहरूले काम गर्न सकेनन्। अबको राजनीति भनेको पब्लिक सर्भिस डेलिभरीको हो।
लामो समयदेखि वकालत गरिरहेको हुनाले परिणाममुखी राजनीतिको धार छ त्यसलाई अहिलेका नागरिकहरूले स्थापित गर्न खोजिरहेका छन्। त्यो धारको नेतृत्व मैले गरिरहेको हुनाले मेरो ‘चान्स हाइ’ छ भन्ने लाग्छ।
तपाईंले शिक्षकलाई सांसद सरहको तलब र पदमा र प्रधानाध्यापकलाई मन्त्री सरह राख्नुपर्छ भन्नुभएको छ। किन ?
मैले यो विषय कुनै शिक्षकका लागि भनिरहेको छैन्। देशको अर्थतन्त्र र विद्यार्थीहरूका लागि भनिरहेको छु। एउटा राम्रो शिक्षकले विद्यार्थीलाई पढाउने हो भने विद्यार्थीले सात कक्षामा छोड्छ भने १० कक्षासम्म पढ्न सक्छ। यो विभिन्न अध्ययन र अनुसन्धानहरूले भनेको छ। एउटा राम्रो शिक्षकले एक विद्यार्थीलाई पढायो भने उच्च शिक्षा अध्ययन गरेपछि प्रति वर्ष २० हजार डलर कमाउन सक्छ भनेर अध्ययनहरुले देखाएका छन्।
आज गुणस्तरीय शिक्षक पर्यो भने भोलि प्रतिवर्ष एक विद्यार्थीले २० हजार डलर कमाउँछ। र, २५ जना विद्यार्थी छन् भने ५ लाख डलर आम्दानी गर्नसक्छ। त्यसले कसलाई फाइदा हुन्छ त ? पक्कै पनि देशको अर्थतन्त्रलाई फाइदा पुर्याउँछ। सक्षम शिक्षकहरूलाई ल्याउनका लागि, सार्वजनिक शिक्षा सुधारका लागि यो नीति आवश्यक छ।
तपाईंले चुनाव जित्नुभयो गर्ने काम के–के हुन्?
म सांसद भएर गर्नसक्ने मुख्यगरी चार वटा काम छन्। पहिलो नीति नियम, कानून र संविधान संशोधन गर्ने हो। जनमत संग्रहको प्रस्ताव आयो भने मैले आफ्नो विचार राख्ने हो। नीति निर्माणमा मैले दुईवटा नीतिलाई फोकस गर्छु। पहिलो नम्बरमा शिक्षा नीति, जुन मेरो प्यासन पनि हो। शिक्षा नीतिमा सुधार ल्याउँछु भनेर बुझ्ने नेता नआएसम्म यो देश बन्दैन। जुन देश बनेको छ शिक्षा हेरेर बनेको छ। दोस्रो, उद्यमशिलता। उद्यमीलाई यो देशमा सहज हुने नीति। नीति मात्र होइन उद्यमीको लागि वातावरण पनि निर्माण गर्नुपर्छ। म उद्यम गर्छु भन्ने मान्छेलाई मोटिभेसन गर्नुपर्छ।
साथै मैले करलगायतका विषयमा वकालत गर्छु। सांसदले सरकारका कामको अवलोकन गर्ने हो। हामीले विगत १० वर्षदेखि गरेको काम नै त्यही हो। 'वाच डग' भएर काम गरिरहेका छौं। सरकारले गरेका गलत कामहरूको विभिन्न फोरमबाट प्रश्न गरिरहेका छौं।
अब हामी संसद भित्रबाट कुर्लिन चाहन्छौं। त्यहाँ गएर तपाईंहरूको आवाज सोध्न र खबरदारी गर्न चाहन्छौं भनेर मतदाता माझ भनेका छौं। तेस्रो काम, आफूले निर्वाचन जितेको क्षेत्रको विकासका लागि सक्रिय रहन्छु। प्रदेश, केन्द्र र स्थानीय तहले गर्ने हो त्यसमा मैले पहल कदमी गर्नेछु।
ती क्षेत्रीय एजेण्डाहरू बोकेर म निर्वाचनमा होमिएको छु। क्षेत्रीय एजेण्डामा ११ वटा स्थानीय मुद्दा र ९ वटा राष्ट्रिय मुद्दा पर्छन्। विस्तृतमा मैले चुनावी घोषणापत्रमा समावेश गरेको छु। चौथो, मैले जुन राजनीतिक धार बोक्छु त्यो पार्टीलाई स्थापित गर्नु मेरो एजेण्डा हो। मूलभूत रुपमा पानी एजेण्डा मैले उठाएको छु। म काठमाडौं–९ को वडानम्बर २१ मा बस्छु।
उक्त क्षेत्रमा बस्दा देखि जुन दिनबाट मभित्र चेतना प्रवेश त्यो बेलादेखि मेरो घरमा पानी आएको रेकर्ड छैन। धारामा पानी आउँदैन हावा आउँछु। धारामा पानी नआएपनि महिनाको १५५ रुपैयाँ शुल्क तिर्नु परेको छ। मलाई पानीको आवश्यकता पूरा गर्नुपर्ने चुनौती छ। यसअघि पानीका लागि खानेपानी संस्थान धाउँथे भने अब प्रधानमन्त्री र मन्त्रीहरूका अगाडि गाग्री ठटाउँछु।
पानी नपाएर तड्पिएका मेरा मतदाताहरूलाई राहत दिन सक्रिय रहन्छु। दोस्रो बाटोको समस्या समाधान गर्नेछु। ३० वर्षदेखि एउटा बाटो देखाएर राजनीति भइरहेको छ तर, अब बाटोको राजनीति होइन बाटो बनाउने राजनीति गर्ने र त्यसको पहलका लागि म आएको छु। मेरो अर्को एजेण्डा संस्कृति जोगाउने हो। मेरो क्षेत्रमा इन्द्र थानदेखि लिएर लगन, टेकु हेर्ने हो भने पनि ऐतिहासिक सांस्कृतिक कला सम्पदाले भरिएको क्षेत्र हो यसलाई ब्रान्डिङ गर्नुपर्छ।
साथै मैले युवाहरूलाई रोजगारी दिने विषयलाई प्राथमिकताका साथ उठाउनेछु। ५० प्रतिशत जनसंख्या अर्थतन्त्रसँग जोडिन पाउनुभएको छैन्। यदी हामीले सहकारी मोडलमा गृहिणीको चार पाँच घण्टा समय सदुपयोग गर्न सक्ने हो भने मेरा दिदी बहिनीहरू पनि आफैं कमाउन सक्नुहुन्छ। साथै स्वस्थकर जीवनशैलीका लागि मैले काम गर्छु।
३१ वर्षदेखि चुनाव लडिरहेका कृष्ण गोपाललाई पराजित गर्न कति सहज छ ?
कृष्णगोपालजीलाई हामीले धन्यवाद दिनुपर्छ। किनकी एक जना मान्छेले ३१ वर्षसम्म निर्वाचन क्षेत्रमा खटिनुभयो। अब हामीले उहाँलाई सम्मान बिदाई गर्नुपर्छ। यो निर्वाचनमा हामीले उहाँलाई सम्भवतः धन्यवाद भन्छौं। उहाँको आर्शिवादले एक युवालाई संसदमा पुर्याउँछ भन्ने विश्वास छ। अघिल्लो निर्वाचनमा मेरो झण्डै पाँच हजार मत आएको थियो। ७२ हजार मतदाता रहेको हाम्रो निर्वाचन क्षेत्रबाट स्थानीय तहको निर्वाचनलाई हेर्दा ४५ हजारको हाराहारीमा भोट खस्ने अनुमान गरेका छौं। कांग्रेसको उम्मेदवार नभएकाले अधिकांश लोकतान्त्रिक भोटलाई मैले प्रतिनिधित्व गर्छु।
नयाँ थप हुनुभएका पाँच हजार युवाको भोट मैले तान्न सक्छु भन्ने आंकलन गरेको छु। त्यसकारण १७ हजार मतसहित म विजयी हुन्छु। यो विषयमा हामीले होमवर्क नै गरेर विश्लेषण गरेका हौं।
निर्वाचन खर्चिलो भयो भनेर तपाईंहरूले नै आवाज उठाउनुभएको थियो। अहिले चन्दा मागिरहनुभएको छ। चन्दा मागेर चुनाव लड्ने आवश्यकता किन पर्यो?
मैले सामाजिक सञ्जालमा चन्दा मागेको छु। मलाई एक रुपैयाँदेखि १०, २०, ५० सय रुपैयाँ पनि चन्दा आएको छ। साथीहरूले आफूसँग भएको रकम हामीलाई दिनुभएको छ। सहयाेग पठाउनुभएका सबै साथीहरूको डिटेल पनि राखेको छु। हामीले वास्तविकतालाई बुझ्नुपर्छ।
चुनाव जितेर आउनुभएका शशांक कोइरालाले नै चार करोेड खर्च गरेको बताइ सक्नुभएको छ। अहिले निर्वाचन आयोगले एउटा निर्वाचन क्षेत्रमा २७ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ। मैले अघिल्लो निर्वाचनमा ३ लाख खर्च गर्दा पाँच हजार भोट पाएको थिएँ। भूगोलको कारणले घर बसेर चुनाव जित्ने अहिलेको अवस्था छैन। केही लाख खर्च हुन्छ।
आजको मूल प्रश्न भनेको त्यो पैसा उम्मेदवारले कहाँबाट ल्याउँछ? के मा खर्च गर्छ ? त्यसको पारदर्शिता आजको प्रमुख विषय हो। मैले त गरिरहेको छु। तर, मेरा प्रतिष्पर्धीले पारदर्शिताका विषयमा प्रश्न गर्नुभएको छैन। कांग्रेस–एमालेका उम्मेदवारहरूले लाखौं पैसा कहाँबाट ल्याइरहेका छन्? मतदाताले प्रत्येक उम्मेदवारलाई सोध्नुस– तिम्रो जीवन कसरी चल्छ? तिमीले पाँच वर्ष के काम गर्यो? तिमीलाई कसले पाल्यो? यो प्रश्न सोध्नुस्। दोस्रो प्रश्न निर्वाचनमा तपाईंले लिएर आएका मान्छेहरूलाई तपाईंले हालेका पेट्रोल कहाँबाट आए ? भनेर प्रश्न सोध्ने आँट गर्नुभयो भने नेपालको राजनीति बन्छ।
वैकल्पिक शक्तिको रुपमा उदाएको पार्टीमा उज्यालो नहुँदै ग्रहण लाग्यो है !
ग्रहणको रुल के छ भने एकछिन लाग्छ र जान्छ। वैकल्पिक राजनीतिमा यो ग्रहण गइसकेको छ। दुःखद केहो भने केही समय हामी अल्मलियौं, गिजोलियौँ। जो मान्छे जे उदेश्य लिएर आउनुभएको थियो उहाँले पार्टी छोडेर गइसक्नु भएको छ। उज्जवल थापाले माइतीघरबाट जे भनेर वैकल्पिक राजनीति सुरुवात गर्नुभएको थियो त्यसरी नै अगाडि बढ्छ। चुनावपछि हामी एक ठाउँमा जान्छौं। र विवेकशील साझा मुभमेन्टलाई सानदार रुपमा अगाडि बढाउँछौँ।
विवेकशील साझा पार्टीमा तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले गणतन्त्र विरोधी विचार ल्याएपछि कारबाहीमा पर्नुभयो। तपाईंको कारबाही फुकुवा नभएपछि साझा पार्टी, नेपालको चिह्नबाट चुनाव लड्दै हुनुहुन्छ। किन यस्तो अवस्था आइलाग्यो ?
विवेकशील साझ पार्टीमा जब रवीन्द्र मिश्रले राजावादी धार बोक्नुभयो। एउटा प्रोग्रेसिभ धारलाई सबैभन्दा रिग्रेसिभ पार्टी बनाउने र रिग्रेसिभ पार्टीमा विलय गराउने प्रपञ्चमा गर्नुभयो। त्यसमा मैले विरोध गरें त्यसपछि म कारबाहीमा परेँ। तत्कालिन अवस्थामा बहुमत नभएपनि उहाँले मलाई कारबाही गर्नुभयो। अहिले म दलविहीनको अवस्थामा छु।
म मेरै पार्टीबाट निष्कासित भएको छु। हाम्रै पार्टीका युवा नेताहरूले मिश्रबाट वैकल्पिक राजनीति हुँदैन र यसको स्प्रिट जोगाउनुपर्छ भनेर साझा पार्टी नेपाल दल दर्ता गर्नुभएको थियो। मलाई ठूला दलहरूबाट पनि चुनाव लड्ने अफर आएको थियो। तर, म जे भनेर वैकल्पिक राजनीतिमा होमिएको थिएँ मैले त्यसलाई सहजतापूर्वक लिन सकिनँ। मसँग अर्को विकल्प स्वतन्त्र हुनु थियो। स्वतन्त्रको एउटा वेभ आयो भन्दैमा।
जस्तै बालेनजीले कालो चस्मा लगाएर चुनाव जित्नुभयो, हर्कजीले टोपी लगाएर चुनाव जित्नुभयो। त्यसकारण मैले कालो चस्मा र टोली लगाएर राजनीति गर्नु छैन। मलाई एजेण्डाको राजनीति गर्नुछ। स्वतन्त्रको लहर आएको छ। राम्रो व्यक्ति आउनुपर्छ।
परम्परागत राजनीतिक दलहरूको विकल्प खोज्नुपर्छ। तर, यसको मतलब जो पनि आउनुपर्छ भन्ने होइन नि ! म यो भेल छोप्न चाहन्न। त्यही भएर म मेरै राजनीतिमा अडिग हुन्छु। इमान्दारीपूर्वक जनतासँग जान्छु। विगत १० वर्षमा विवेकशीलले धेरै राम्रा काम गरेको छ। नेपाल खुला छ भन्यो, उद्यमशील ट्रेनिङहरू दियो। महिलाहरूको आवाज उठायो, भुकम्पमा राम्रा काम गरेका छौं।
(भिडियो)
तपाईंको ईमेल गोप्य राखिनेछ ।