|

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली भोजनालयहरूको अनुगमन गर्दा भान्छा स्वच्छ नरहेको र फोहोर रहेको पाइएको छ। काठमाडौं महानगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो।

स्वास्थ्य विभागको नेतृत्वमा कामपा-१० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्छा, वडा नं ३१ मा सञ्चालित कोलकत्ता स्विट्स प्रालि, द बर्गर हाउस (सिएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयको अनुगमन गरिएको थियो। 

स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार अनुगमन गरिएका सबैको भान्छामा सरसफाई र स्वच्छताका हिसाबले कमजोर छन्। परिकार बनाउने कच्चा पदार्थ चामल, दाल, मसलाको उपभोग म्यादका विषयमा सञ्चालकहरूले खासै चासो राखेको देखिएन।

भान्छामा काम गर्ने कर्मचारीहरूको व्यक्तिगत सरसफाई पनि गतिलो नभएको पाइएको छ। उनीहरूले एप्रोनको उचित उपयोग गरेका छैनन्। फ्रिजमा राखिने सामग्रीको व्यवस्थापन कमजोर छ। खाद्य अनुज्ञा (अनुमति) पत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका खाद्यवस्तुको प्रयोग भएको पाइएको महानगरले जनाएको छ।

यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई ३ दिनभित्र कार्यालयमा उपस्थित हुन महानगरपालिकाले आदेश दिएको छ।

खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपक्षी महाशाखाका प्रमुख डा. अवधेश झा भन्छन्, ‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो, व्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर ३ दिनभित्र कार्यालयमा उपस्थित हुन आदेश जारी गरिएको छ।’

थकाली भान्छा घरको किचनमा खाना पकाउने ठाउँमै बसेर खाना खाइरहेको भेटिएको उनले बताए। यसरी हेर्दा सामान व्यवस्थापन, पकाउने तथा भण्डारण गर्ने पद्धति र खाना तयारीसँग सम्बन्धित व्यक्तिको आचरण सुधार गर्नुपर्ने उनको भनाइ छ। 

पर्वलक्षित अनुगमनका क्रममा महानगरले आजदेखि बजार अनुगमन गर्न थालेको हो। सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय खाद्य सामग्री‚ भोजन, मालमत्ता प्राप्त सकुन् भनेर अनुगमनलाई निरन्तरता दिएकाे महानगरपालिकाले जनाएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.