|

तुलसीपुर : तुलसीपुर होटेल व्यवसायी समितिले चाडपर्व नजिकिएसँगै बजारमा बिक्री वितरण हुने गुणस्तरहीन मिठाई बन्द गर्न माग गरेको छ।

सोमबार तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई ज्ञापनपत्र बुझाउँदै बजारको अनुगमन गरेर तत्काल त्यस्ता मिठाई बिक्री वितरण बन्द गर्न माग गरेको हो। टोलीले गुणस्तरहीन मिठाई बिक्री वितरण गर्नेलाई कारबाही गर्न समेत आग्रह गरेको छ।

बजारमा विशेष गरी तिहारको समयमा मापदण्डविपरीत खुला रूपमा बिक्री वितरण गरिने गुणस्तरहीन मिठाईका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने भएकाले कारबाहीको दायरामा ल्याउनुपर्ने होटेल व्यवसायी समितिअन्तर्गत रहेको मिठाई व्यवसायी उपसमितिका संयोजक प्रवेश वलीले बताए।

यसैगरी ज्ञापनपत्र बुझ्दै प्रमुख खड्काले तत्काल उपभोक्ता हित संरक्षण शाखाबाट बजार अनुगमन गरेर कारबाहीको दायरामा ल्याइने बताए। उनले बजारमा गुणस्तरहीन मिठाई दर्ता नभएका व्यक्ति पसलबाट बिक्री भएको अवस्थामा अनुगमनका क्रममा फेला परे कारबाही गर्ने पनि आश्वासन दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.