|

पर्वत : नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डी पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश स्वर्ण पदकका लागि भिड्ने भएका छन्।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ३६–२१ प्वइन्टले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल प्रहरी क्लबलाई २७–१० प्वइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो।

फाइनल चरणमा प्रवेश गरेका आर्मी र लुम्बिनीले लिग चरणका खेलमा अपराजित रहँदै समूह विजेता घोषित भए। प्रतियोगितामा सुदूर पश्चिम प्रदेश र नेपाल प्रहरी क्लबले समान ३ जित र २ पराजय बेहोर्दै समूह उपविजेता बन्दै काँस्यमा सीमित हुन पुगे।

सम्पन्न भएको लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर १ लाई ३७–११ प्वइन्टले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्दा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशसँग ४४–२६ प्वइन्टले पराजित भएको भए पनि सेमिफाइनलमा यसअघिका प्रदर्शनका आधारमा सेमिफाइनलमा स्थान बनाएको थियो। 

नेपाल पुलिसले क्लबले मंगलबारको खेलमा गण्डकी प्रदेशलाई ५८–५४ प्वइन्टले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो। लिग चरणको अर्को खेलमा मधेस प्रदेशले सशस्त्र प्रहरीलाई ४०–३७ प्वइन्टले पराजित गरे पनि दुवै टिम बाहिरिन पुगे। यसअघि प्रतियोगितामा बागमती, कर्णाली र गण्डकी प्रदेश गत मंगलवार नै बाहिरिएका थिए।

महिला कबड्डीको फाइनलमा आर्मी र पुलिस

प्रतियोगिताको महिला कबड्डीमा विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन्।

सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई २३–६ प्वइन्टले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। यस्तै अर्को विभागीय टोली नेपाल प्रहरी क्लबले सशस्त्र प्रहरी बललाई ३२– २९ प्वइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो।

फाइनल चरणमा प्रवेश गरेका आर्मी र नेपाल प्रहरीले लिग चरणका खेलमा अपराजित रहँदै समूह विजेता घोषित भए। प्रतियोगितामा लुम्बिनी प्रदेश  र सशस्त्र प्रहरी बलले समान ३ जित र २ पराजय बेहोर्दै समूह उपविजेता बन्दै काँस्यमा सीमित हुन पुगे।

प्रतियोगिता अन्तर्गत बिहीबार स्वर्ण र रजत पदकका लागि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश आमनेसामने हुँदा महिलातर्फ त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरी क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

आर्मी यसअघि सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा पुरुष तथा महिला कबड्डीको दुवैमा स्वर्ण विजेता हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.