|

काठमाडौं : नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्राडा बच्चुकैलाश कैनीले आफ्ना कृतिहरूको बिक्रीबाट आएको सबै रकम मानवीय सेवामा अर्पण गर्ने घोषणा गरेका छन्।  

हालैमात्र डा कैनीका अदृश्य मनका सादृश्यहरू (निबन्धसङ्ग्रह), सिमाहीन सिमा र रङ्गको पहिचान (कवितासङ्ग्रह), भिसागर्ल (कथासङ्ग्रह) र प्रतिबिम्ब (गजलसङ्ग्रह) गरी एकै पटक ५ कृति सार्वजनिक भएको थियो। वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदी लगायतका विशिष्ट व्यक्तिहरुबाट पाँचवटा पुस्तकको एकसाथ विमोचन भएको थियो।

ती कृतिबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धारका साथै खाना, नाना र छानाको प्रबन्ध गरी परिवार खोजेर पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमलाई दिने घोषणा गरेका हुन्।

उनले पहिलो चरणको सहयोगअन्तर्गत पुस्तक विमोचनका अवसरमा उठेको रु २१ हजार ८६० आश्रमका केन्द्रीय सदस्य सुमिरा लामालाई हस्तान्तरण गरिसकेका छन्। केन्द्रिय सदस्य लामाले यस्तै परोपकारी व्यक्तिहरुको सहयोगबाट नै आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी (सडकआश्रित) मानवहरुहरुको पालनपोषण भइरहेको जानकारी गराउँदै डा कैनीको घोषणाले आश्रमलाई थप हौसला मिलेको बताए।

“मेरा यी पाँच वटै कृति बिक्रीबाट आएको सबै पैसा म मानवसेवा आश्रमका लागि अर्पण गर्नेछु”, डा कैनीले भने, “आश्रमको सेवालाई यसले थोरै भए पनि सहयोग पुग्ने अपेक्षा छ।” वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले  एकैपटक पाँच कृति ल्याएकोमा डा कैनीलाई बधाई दिए।

मानवसेवा आश्रमले एक दशकदेखि सडकपेटी र सार्वजनिक स्थलहरूमा घरपरिवार र आफन्तविहीन भइ कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर) सडकआश्रित मानवहरूको उद्धार, उपचार एवं परामर्श गर्दै आइरहेको छ।

आश्रमले परामर्शका क्रममा परिवार भेटिएकाहरूको पारिवारिक पुनःमिलन र परिवार नभेटिएकाहरूको संरक्षण गर्दै आएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.