|

काठमाडौं : सत्तारूढ दलमध्येको नेकपा माओवादी केन्द्रले पनि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। माओवादी केन्द्रले पनि घोषणापत्रमा स्वास्थ्य सेवासँग सम्बद्ध विषय प्राथमिकताका साथ राखेको छ।

माओवादीको घोषणापत्रमा आगामी ५ वर्षभित्र बालबालिका तथा ज्येष्ठ नागरिकहरूको उपचारका लागि छुट्टै विशिष्टीकृत अस्पताल निर्माण गर्ने उल्लेख छ।

१०० वा सोभन्दा बढी शय्या भएका अस्पतालमा बालबालिका तथा ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै एकाइ तथा दक्ष स्वास्थ्यकर्मी व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख गरेको छ।

लागुऔषध, धूमपान सेवन गर्नेका लागि स्वास्थ्य सेवासहितको पुनःस्थापना केन्द्र सातै प्रदेशमा स्थापना गर्नेसमेत माओवादीको घोषणापत्रमा उल्लेख छ।

यसका साथै हरेक पालिकामा योग, ध्यान र शारीरिक व्यायाम गर्ने परिपाटी विकास गरिने, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई यातायात, चाडबाड र विशेष स्वास्थ्य अभियान चलाएबापत थप सेवा सुविधाको प्रबन्ध गरिने पनि उल्लेख छ।

सुस्वास्थ प्रवर्द्धनात्मक र निरोधात्मक कार्यक्रम सञ्चालन गरिने घोषणापत्रमा जनाइएको छ।

हरेक पालिकाबाट वर्षेनी कम्तीमा एकजना डाक्टर‍ र एकजना स्टाफ नर्स पढाउन सरकारले छात्रवृत्तिको व्यवस्था गर्ने, डाक्टर तथा नर्सलाई सरकारी सेवामा आकर्षित गर्न सेवा सुविधा वृद्धि गर्ने र साप्ताहिक ४० घन्टाभन्दा बढी समय सेवा गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा दिनेसमेत घोषणापत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.