|

सर्लाही : सर्लाहीमा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिने र उनका प्रस्तावक तथा समर्थकलाई पार्टीले निष्काशन गरेको छ।

पार्टीको मधेश प्रदेश कमिटीका इन्चार्ज गणेश साहले सर्लाहीका ११ जना नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका हुन्। कारबाहीमा पर्नेमा ५ जना बागी उम्मेदवार र बाँकी ६ जना उनीहरूका प्रस्तावक तथा समर्थक हुन्।

५ दलीय गठबन्धनविरुद्ध सर्लाही क्षेत्र नं. १ (ख) बाट राजनकुमार श्रेष्ठ र क्षेत्र नं. ३ (क) बाट जवाहरलाल कुशवाहलाई पार्टीले कारबाही गरेको छ। श्रेष्ठले बागी दिएको क्षेत्र नं. १ (ख) मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र कुशवाहले बागी दिएको क्षेत्र नं. ३ (क) बाट समाजवादीकै डिल्लीप्रसाद उप्रेतीको उम्मेदवारी परेको छ।

सर्लाही क्षेत्र नं. ४ (ख) बाट बागी उम्मेदवारी दिने तीनजना नेता महेन्द्र राय, श्रीचन राय र अनिता देवीलाई पनि कारबाही गरी पार्टीबाट निष्काशन गरिएको छ। ४ को (ख) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकै फकिरा महतोले उम्मेदवारी दिएका छन्। माओवादीले बागी उम्मेदवारका प्रस्तावक तथा समर्थक भूपेन्द्रमान श्रेष्ठ, रामबाबु राय, जितलाल राय, कपल सहनी, रामवचन राय र उपेन्द्र यादवलाई पनि पार्टीबाट निष्काशन गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.