|

धनकुटा : धनकुटामा नमुना मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न सोमबार नमुना मतदान आयोजना गरेको हो।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन नमुना मतदान गरिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार अन्य ६ वटै स्थानीय तहमा पनि नमुना मतदान कार्यक्रम आयोजना गरिने भएको छ।

पशु विज्ञ तथा भेटेरीनरी कार्यालयमा आयोजना गरिएको नमुना मतदानमा कर्मचारी, सेवाग्राही, पत्रकार र स्थानीयले नमुना मतदानमा भाग लिएका छन्। नमुना मतदान सहभागीले प्रदेश र प्रतिनिधिसभाको जस्तै प्रत्यक्षलाई र समानुपातिक गरी ४ वटा मतपत्रमा ४ पटक मतदान गरेका छन्। नमुना मतदानमा २१ पुरुष र १५ महिला गरी ३६ जनाले भाग लिएका छन्।

धनकुटाका अन्य स्थानीय तहमा निर्वाचनको मौन अवधि सुरु हुनु अगाडि नमुना मतदान कार्य सम्पन्न गरिने भएको छ। धनकुटामा एक लाख १६ हजार नौ सय ९१ मतदाता रहेका छन्। तीन नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल एक सय १९ मतदानस्थल छन् भने एक सय ६२ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा १५ सय १ अस्थायी मतदाता

धनकुटामा १ हजार ५ सय अस्थायी मतदाता रहेका छन्। जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार १ हजार ५ सय १ जना अस्थायी मतदाता रहेका हुन्। अस्थायी मतदातामा कर्मचारी, सेना, प्रहरी, कारागारका कैदीबन्दी रहने बताइएको छ।

अस्थायी मतदातामा जिल्ला कारागारमा रहेका कैदीबन्दी ४२ जना र अन्य कर्मचारी, सेना, प्रहरी रहेको जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले जानकारी दिए।

जिल्ला कारागारमा रहेका ४२ मतदातामा सबै पुरुष रहेको जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले जानकारी दिए। अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने उनले जानकारी दिए।

मंसिर ४ गते हुने प्रदेश तथा प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा धनकुटामा २ वटा अस्थायी मतदान स्थल कायम गरिएको छ। जसमा कैदीबन्दीका लागि जिल्ला कारागार धनकुटामा एउटा र कर्मचारी, सेना, प्रहरीका लागि गोकुण्डेश्वर माध्यमिक विद्यालयमा कायम गरिएको श्रेष्ठले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.