'निर्वाचन आयोगको पञ्चायती मानसिकता छ'

|

काठमाडौं :  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताहरूले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’ गरेको बताएका छन्।

 निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्षमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रवन्ध’ विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले ठूला नेताहरूले निर्वाचन जित्न पहिले नै म्याच फिक्सिङ गरेको बताएका हुन्।

उनले मतदाताले आफ्नो चाहनामा मतदान गर्ने अवस्था नरहेको बताउनु भयो। गठबन्धन र तालमेलको नाममा मतदाताको रोजाइको उम्मेदवारलाई मतदान गर्न नसकिएको उनको भनाइ छ। उनले ठूला नेताहरू कसलाई कहाँबाट जिताउने भन्ने पहिले नै पक्का भइसकेकाले नो नट अगेन जति भने पनि प्रभावकारी नहुने बताए। त्रिपाठीले निर्वाचनपछि पनि देश अस्थिरतामा जाने निश्चित भएको बताए।

‘निर्वाचन भनेकै के हो भने मतदातालाई फुल च्वाइस दिनुपर्‍यो। तर के भइदियो भने यो गठबन्धन भन्यो। अर्को तालमेल भन्यो। मतदाताले आफूले चाहेको उम्मेदवारलाई भोट हाल्ने अवस्था छैन। चाहेको पार्टीलाई भोट हाल्ने अवस्था छैन। त्यो सूची नै छैन कतिपय निर्वाचन क्षेत्रमा। आफूले चाहेकोमा गर्न सक्दैन। म्याच फिक्सिङ पहिल्यै भइसकेको छ, कसलाई जिताउने, कहाँबाट जित्ने। ठूला नेताहरू सबै सुरक्षित छन्', उनले भने, 'उनीहरूलाई जनताले जतिसुकै 'नो नट अगेन' भनेपनि यथार्थमा त्यो होला जस्तो छैन। किनभने म्याच पहिल्यै फिक्स भइसकेको छ। को जित्ने, को हार्ने। सबै डिजाइन  गरिएको छ। यसले निर्वाचनपछि पनि कुनै स्थिरतमा जाँदैन। यसले गम्भिर अस्थिरताको दौड शुरु गर्नेछ। किनभने अहिले सबै प्रधानमन्त्रीको उम्मेदवार छन्। सबै कुरा अनिश्चित छ। यो लोकतान्त्रिक प्रणालीको मजाक हो।'

वरिष्ठ अधिवक्ता त्रिपाठीले समानुपातिक निर्वाचन प्रणालीलाई नेता व्यवस्थापनका लागि मात्रै प्रयोग गरिएको बताए। उनले निर्वाचन नजित्नेलाई थन्काउनका लागि मात्रै समानुपातिक निर्वाचन प्रयोग भएको टिप्पणी गरे। त्यस्तै समानुपातिकको टिकट बिक्री हुने भएकाले लक्षित समुदायले पाउन नसकेको उनले बताए।उनले निर्वाचन आयोगको विश्वसनीयतामा गम्भीर प्रश्न उठेको बताए।  

निर्वाचन आयोगको पञ्चायती मानसिकता रहेको र पञ्चायतकालमा अञ्चलाधीशले गर्नेजस्तो काम आयोगबाट भइरहेको उनको टिप्पणी थियो। संविधान मिचेर अध्यादेशबाट नियुक्त भएका आयुक्तहरू भएकाले उनीहरूलाई संविधान, कानून र लोकतन्त्रको मतलव नभएको उनले बताए।

अधिवक्ता मोहना अन्सारीले निर्वाचन आयोग पार्टीको छायाँको रुपमा चलिरहेको बताइन्। आयोगले खर्चको सीमा तोकेको भए पनि राजनीतिक दलहरूले धेरै खर्च गरिरहेको भएपनि नियन्त्रण गर्न नसकको उनले बताइन्।

‘निर्वाचन महंगो भयो। आयोगले नियन्त्रण गर्न सकेन। निर्वाचन आयोग संवैधानिक आयोग हो। तर यसो हेर्दाखेरी पार्टीको छायाँ हो। पार्टीको छायाँमा ऊ चलिरहेको छ भन्ने देखिन्छ। दिनप्रतिदिन महंगो निर्वाचनमा जाँदैछौँ। यसले भ्रष्टाचारतिरै इंकित गर्छ’, उनले भनिन्। उनले निर्वाचनमा धेरै पैसा खर्च हुनुले भ्रष्टाचार हुँदैछ भन्ने इंकित गरेको स्पष्ट पारिन्। उनले कम खर्चमा स्वच्छ र निष्पक्ष निर्वाचन हुनुपर्नेमा जोड दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.