|

बझाङ : बझाङको साइपाल गाउँपालिका ४ का वडाअध्यक्ष निर्वाचनको आचारसंहिता विपरित पार्टीको प्रचारप्रसारमा संलग्न रहेको पाइएको छ। 

वडाअध्यक्ष जयसिंह रोकाया चुनाव प्रचारप्रसारमा संलग्न पाइएको हो। निर्वाचन आयोग ऐन २०७३ को दफा २२ परिच्छेद ३ को बुँदा (ङ) मा स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तह भित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न रोक लगाएको छ। 

नेपाली काग्रेसबाट साइपाल गाउँपालिका ४ को वडाअध्यक्षमा निर्वाचित रोकाया आफ्नो पार्टीका उम्मेदवारको पक्षमा मतमाग्दै साइपाल गाउँपालिकाका विभिन्न टोलहरुमा हिडेका छन्।

रोकाया गठबन्धनको पक्षमा खुलेरै भाषण गर्दै भोट माग्दै हिडिरहेको स्थानीय प्रदिप बोहराले बताए। उम्मेदवार र जनप्रतिनिधिहरूले आचार संहिता विपरित कार्य गरेको सम्बन्धमा आचारसंहिता अनुगमन गर्दै आएका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिको अहिले सम्म कुनै उजुरी नआएको र उल्लङ्घन गर्ने व्यक्तिको विवरण आफु कहाँ पठाएर सहयोग गर्न आग्रह गरेका छन्।

शिक्षक पनि प्रसारमा

निर्वाचन आयोगले कार्तिक ८ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरेको छ। आचारसंहिता तीनै तहको सरकार, आमसञ्चार माध्यम, नेपाल सरकारका कर्मचारी, पर्यवेक्षक लगायत सबैको लागि लागु हुने भनिएको छ। 

निर्वाचन आचार संहिता नभएको बेला पनि नेपाल सरकारका कुनै पनि कर्मचारीले पदमा रहँदा कुनै पनि राजनीतिक दलको खुलेर विरोध वा समर्थन गर्न पाइन्न। 

निर्वाचन आचार संहिता लागु भएको समयमा पनि सरकारका केहि कर्मचारी भने खुलेर सामाजिक सञ्जालमा उम्मेदवारलाई मत मागिरहेका छन्।

साइपाल गाउँपालिका ३ घर भई साइपाल गाउँपालिका २ मा रहेको तपोवन आधारभुत विध्यालय जिमामा बालकक्षा शिक्षकमा कार्यरत जस्वीर बोहरा अहिले चुनावमा गठबन्धनकोे प्रचारमा जुटेका छन्। उनले आफ्नो फेसबुक वालमा गठबन्धनलाई मत मागेका छन्। 

निर्वाचन आचारसंहिता विपरित निर्वाचन गतिविधिमा संलग्न वडाअध्यक्ष रोकाया र बोहराकाविरुद्ध लिखित तथा मौखिक उजुरी भने कहि कोहीबाट नआएको मुख्य निर्वाचन अधिकृत यादवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.