|

धनगढी : प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचन नजिकिए पनि सुदूरपश्चिमेलीको ‘मुग्लान यात्रा’ रोकिएको छैन। दशैँतिहार मनाउन घर फर्किएका अधिकांश युवा अहिले फेरि धमाधम भारततर्फ लागेका हुन्। 

प्रहरीका अनुसार  कैलालीको त्रिनगर, गौरीफण्टा नाकाबाट मात्रै हरेक दिन ८०० भन्दा बढी युवा भारत लाग्ने गरेका छन्। निर्वाचनको ७२ घण्टा सीमा नाका बन्द हुने भएपछि ठूलो संख्यामा युवा बाहिरिन थालेका हुन्।

तर, यो चुनावलाई नजरअन्दाज गर्दै सुदूरपश्चिमका युवाहरुले भोको पेट पाल्न र घरपरिवारको खर्च धान्न भारतको बाटो तताइरहेको बताएका छन्। अचेलसीमा नाकामा भारतका विभिन्न शहरमा जानेको लर्को नै लागेको देखिन्छ। 

उनीहरूलाई निर्वाचनको कुनै चासो छैन। त्रिनगर नाका हुँदै भारत जाने यात्राको तयारीमा रहेका डोटीको दीपायल सिलगढी नगरपालिका ७ का जनक विष्टले मतदानप्रति आफ्नो रुचि नभएको बताए। उनले तिहारका लागि आफू घर आएको तर मंसिर ४ गते चुनाव छ भन्ने कुरा थाहा नपाएको बताए। ‘म तिहार मनाउन घर आएको थिएँ। काम गर्न फेरि भारतको आन्ध्र प्रदेश जाँदै छु’, उनले भने, ‘चुनाव कहिले हो त्यो थाहा भएन। घर खर्च चलाउन हामीले विदेश जानै पर्छ।’ 

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका रूपेश विक पनि सपरिवार भारत जान लागेका भेटिए। नेपालमा रोजगारी नभएकाले भारत जानुको विकल्प नरहेको उनले बताए। उनका लागि चुनावभन्दा पनि रोजगारी बढी आवश्यक छ। ‘दशैँमा घर फर्केको थिएँ। नेपालमा रोजगारी छैन। आज सपरिवार भारत जाँदैछु’, उनले प्रश्न गरे, ‘चुनावमा भोट हाल्न बसेर के हुन्छ? रोजगारी मिल्छ?’

नाकामा परिवारसँगै भारत जान लागेका टीकापुर नगरपालिका वडा नम्बर ६ का अमृत चौधरी भने भोट हाल्ने इच्छा भए पनि बाध्यताले भारत जान लागेको बताए। ‘यो पटक भोट हाल्ने मन त थियो। तर, उता नगए नोकरी गुम्ने भएकाले जान लागेको हुँ’,’ उनले भने, ‘यता काम पाइन्न। काम पनि पाइने, कमाइ पनि हुने भएकाले भारत जानुपर्ने बाध्यता छ।’ 

कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का एकेन्द्र भाटले पनि घरखर्च चलाउनका लागि भारत पस्न लागेको बताए। भोट माग्न मात्रै चुनावको बेला नेता गाउँमा आउने अरु बेला समस्या बुझ्न नेता गाउँमा नआउने भएकाले भोट हाल्नुको औचित्य देख्दैनन् उनी। ‘भोटले काम दिने, माम दिने भए घरमै बस्न हुन्थ्यो। भारतको नोकरीको भरमा परिवार पाल्नुपर्ने अवस्था छ’, उनले भने, ‘नेताहरू चुनावमा मात्रै घरदैलोमा आउने, अरु बेला समस्या नबुझ्ने भएकाले कसैलाई पनि भोट हाल्ने मन लागेन।’,  
त्रिनगर नाकामा भेटिएका अछामका दीपक बोहराले भोट नहाल्ने भनेर भारत जान लागेको बताए। ‘मैले काँग्रेसलाई भोट हालेँ, एमाले र माओवादीलाई पनि भोट हालेँ। तर कसैले काम गरेनन्’ उनले भने, ‘त्यसैले कसैलाई भोट नदिने निर्णय गरेर भारत जान लागेको हुँ।’ 

सुदूरपश्चिमका सबै जिल्लाबाट रोजगारीका लागि भारत जाने युवाको सीमा नाकामा हरेक दिन लर्को देख्न सकिन्छ। प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारहरूले रोजगारी सिर्जना गर्ने भाषण गरे पनि युवाले पत्याएका छैनन्। युवाहरूले रोजगारी पाइने सम्भावना नदेखेको भन्दै भारत जान लागेको गुनासो सुनाए। 

आइतबार र सोमबारमात्रै दैनिक ७०० भन्दा बढी युवा भारत पसेको सीमा नाकामा प्रहरीले टिपेको विवरणले देखाएको छ। गौरीफन्टा नाकाबाट हरेक दिन ५०० को हाराहारीमा युवा भारत जाने गरेको प्रहरीले जनाएको छ। कञ्चनपुरको गड्डाचौकी लगायत पहाडी जिल्लाका नाकाबाट पनि कामको खोजीमा युवा भारत जाने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.