|

काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ। आइतबार बिहान ७ बजे मतदान सुरु भएको हो। तोकिएका मतदान केन्द्रबाट अपराह्न ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाएको निर्वाचन आयाेगले जनाएको छ।

यो मतदानबाट २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। 

प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। निर्वाचन सकिएर मतपेटिका संकलन हुनेबित्तिकै मतगणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको गणना सक्ने आयोगको कार्यतालिका छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६१ र समानुपातिकतर्फ ४७ राजनीतिक दल भाग लिँदै छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला गरी दुई हजार ४१२ उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्। 

समानुपातिकतर्फ दुई हजार १९९ जना उम्मेदवार छन्। जसमा महिला उम्मेदवारको संख्या एक हजार २०० छ। प्रदेश सभाअन्तर्गत सातवटै प्रदेशमा तीन हजार २२४ जना प्रत्यक्षतर्फ र तीन हजार ७०८ जना समानुपातिकतर्फ उम्मेदवार छन्। यसरी देशैभर प्रत्यक्षतर्फ पाँच हजार ६३६ र समानुपातिकतर्फ पाँच हजार ९०७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

एक जना मतदाताले चारवटा मतपत्रमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ। प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) र समानुपातिक गरी दुई र प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक गरी दुई प्रकारका गरी चार प्रकारका मतपत्रमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.