|

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा तेस्रो दिन तिन खेल हुँदैछ। पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबिया, दोस्रोमा डेनमार्क र ट्युनेसिया तथा तेस्रो खेलमा पोल्याण्ड र मेक्सिको भिड्न लागेका हुन्। 

समूह सिमा रहेका अर्जेन्टिा र साउदी अरेबियाको खेल दिउसो पौने चार बजे दोहा स्थित लुसेल आइकोनिक स्टेडियममा हुँदैछ। वर्तमान फिफा वरियतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिना र ५१ औँ स्थानमा रहेको साउदी अरेबिया पाचौँ पटक भिड्न लागेका हुन्। यसअघिका चार खेलमा दुई खेल अर्जेन्टिनाले जितेको थियो भने दुई खेल बराबरीमा रोकिएको थियो। 

साउदी अरेबिया छैटौँ पटक विश्वकप खेलिरहेको छ भने अर्जेन्टिना दुई पटकको विश्व विजेता हो। सन २०१९ देखि लगातार ३६ खेलमा अपराजित रहेको अर्जेन्टिना खेलमा हावी रहने देखिएको छ भने साउदी अरेबिया अजेन्टिनामाथी पहिलो जित निकाल्ने प्रयासमा रहनेछ। 

त्यस्तै दोस्रो खेलमा ग्रुप डिका डेनमार्क र ट्युनेसिया भिड्दैछन्। साँझ पौने सात बजे दोहा स्थित एजुकेसन सिटी स्टेडियममा खेलिने खेलमा फिफा वरियताको १० औँ स्थानमा रहेको डेनमार्क बलियो देखिएको छ। ट्युनेसिया ३० औँ स्थानमा रहेको छ। 

छ छ पटक विश्वकप खेलेका डेनमार्क र ट्युनेसिया पहिलो पटक आमुन्ने सामुन्ने हुन लागेका हुन्। डेनमार्क विश्वकपमा एकपटक क्वाटर फाइनलसम्म पुगेको छ भने ट्युनेसियाले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन। पहिलो खेलमा जित निकाल्दै विश्वकपको सुखद सुरुवात गर्ने लक्ष्यमा दुवै टोली रहनेछन्। 

राति पाैने १० बजे हुने आजको अन्तिम खेलमा ग्रुप सिका पोल्याण्ड र मेक्सिको पाचौँ पटक आमुन्ने सामुन्ने हुन लागेका छन्। यसअघिका चार खेलमा दुवै टोलीले एकएक जित हात पारेका थिए भने दुई खेल बराबरीमा रोकिएको थियो। 

फिफा वरियतामा २६ औँ स्थानमा रहेको पोल्याण्ड आफ्नो नवौँ विश्वकप खेल्दैछ। १९३८ मा पहिलो पटक विश्वकप खेलेको पोल्याण्ड १९७४ र १९८२ मा तेस्रो स्थानमा आएको थियो। त्यस्तै १७ औँ पटक विश्वकप खेल्न लागेको मेक्सिको दुई पटक क्वाटर फाइनलसम्म मात्रै पुग्न सकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.