|
फाइल फोटो

डडेल्धुरा : प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन्। 

२५ हजार ५३४ मत ल्याउँदै देउवा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत प्राप्त गरे। दुईबीच १२ हजार ४९२ मतान्तर छ। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले सात हजार ५३५ मतमै चित्त बुझाए।

५१ हजार २०३ मत गणना हुँदा तीन हजार १८७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

२०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन्। प्रधानमन्त्री देउवाले डडेल्धुराबाट चुनाव जितेको यो सातौँ पटक हो। यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि विजयी भएका थिए।

तर, देउवा गठबन्धन हुँदा पनि गत निर्वाचनमा पाएको मत गुमाएका छन्। यसपटक देउवाले ३४ देखि ४० हजार मत पाउने आकलन गरिएको थियो। तर, उनी साढे २५ हजारमै सीमित भए। 

देउवाले २०७४ सालको निर्वाचनमा २८ हजार ४४ मत प्राप्त गरेका थिए, जतिबेला कांग्रेस एक्लै चुनाव लडेको थियो। अघिल्लो चुनावभन्दा देउवाले २ हजार ५१० मत कम पाए। 

उनले तत्कालीन निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनबाट  माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टलाई हराएका थिए। भट्टले २१ हजार ११५ मत ल्याएका थिए। त्यतिबेला भट्टलाई देउवाले ६ हजार ९२९ मतले पराजित गरेका थिए। ​राजनीतिप्रतिको वितृष्णा, सागरको उदय र मल्लका कारण चुनाव लड्नुले गर्दा देउवाले कम मत ल्याएको विश्लेषण गरिएको छ। 

देउवा २००३ जेठ ३१ गते डडेल्धुराको साबिक असिग्राम गाविस–५ र हालको गन्यापधुरा गाउँपालिका–१ मा जन्मिएका हुन्।

उनले प्राथमिक शिक्षा गाउँकै असिग्राम प्राथमिक विद्यालय र एलएसली सीताराम मावि डोटीबाट पूरा गरे। देउवा २०२० सालदेखि नै राजनीतिमा सक्रिय भए। उनी बीपी कोइरालाको प्रेरणाबाट कांग्रेसमा लागेका हुन्।

देउवाले स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो आदर्श बनाउन थालेका थिए।​ एलएसलीपछि देउवा ०२१ मा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भए।

यसपछि उनी नेविसंघभित्र राजनीतिमा सक्रिय भए। यस क्रममा उनी विभिन्न समयमा पटक–पटक पक्राउसमेत परे। विद्यार्थी जीवनमा देउवाले निडर र निर्भिक स्वभावका थिए।

नेविसंघमा सक्रिय भएर काम गरिरहेका देउवा २०२८ सालमा पहिलोपटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भए। नेविसंघको नेतृत्वमा आएपछि उनले आफ्नो राजनीतिलाई झन् सशक्त रूपमा अगाडि बढाए। राजनीतिका सिलसिलामा देउवाले पटक–पटक गरी करिब ९ वर्ष जेलजीवन बिताएका छन्।

देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले लण्डन स्कुल अफ इकोनोमिक्सबाट राजनीतिशास्त्र र त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेका छन्।

नेविसंघका संस्थापक सदस्य उनी ०७२ फागुनदेखि नेपाली कांग्रेसको सभापति छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.