|

कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन्। एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पाललाई फराकिलो मत अन्तरले हराउँदै कांग्रेस केन्द्रीय सदस्य लेखक तेस्रो पटक यस क्षेत्रबाट संसद निर्वाचित भएका छन्।

लेखकले पाललाई १२ हजार ७५ मत अन्तरले हराएका छन्। उनले ३० हजार, ५सय २३ मत पाएका छन्। उनकी प्रतिद्वन्द्वी एमालेकी पालले १८ हजार ४सय ४८ मत पाएकी छन्।

अघिल्लो निर्वाचनमा लेखक एमालेका निवर्तमान सांसद डा. दिपक प्रकाश भट्टसित पराजित भएका थिए। यस पटक अघिल्लो हारलाई फराकिलो मत अन्तरले बदला लिएर उनी निर्वाचित भएका छन्।

कांग्रेसका केन्द्रीय सदस्य लेखक यस क्षेत्रबाट तेस्रो पटक निर्वाचित भएका छन्। उनी यस अघि २०७० को संविधान सभा सदस्य निर्वाचन र २०५६ मा सांसद निर्वाचित भएका थिए। त्यस बाहेक उनी २०६४ का समानुपातिक संविधान सभा सभा सदस्य भएका थिए।

२०५२ को मध्यावधि निर्वाचनमा सांसद निर्वाचन लड्न इच्छा राखेका उनी त्यसको पाँच वर्षपछि पहिलो पटक २०५६ मा सांसद निर्वाचित भएका थिए। त्यसपछि २०६४ मा समानुपातिक सांसद भएका उनी २०७० मा फराकिलो मत अन्तरले संविधान सभा सदस्य निर्वाचित भएका थिए।

२०७० मा निर्वाचित भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका उनी त्यस अघि श्रम यातायात मन्त्री र राज्य मन्त्री भएका थिए। अघिल्लो निर्वाचनमा लेखकले २६ हजार १० ६मत पाएका थिए। यस पटक उनले ४ हजार ४१७ बढी मत ल्याएका छन्।

कांग्रेसका महाधिवेशन प्रतिनिधि दिपक बहादुर सिह र शारदा चन्द लगायतका काँग्रेसका उनी विरूद्ध चुनावी मैदानमा भएपछि उनलाई अप्ठेरो पर्ने अनुमान गरिएको थियो। कञ्चनपुर ३ मा कांग्रेसका बागी भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले बढी मत पाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुकारले २ हजार २८, नेपाल मजदुर किसान पाटीका जानकी देवी गिरीले १०६, लोकतान्त्रिक समाजवादी पार्टीका अम्बादत्त तिवारीले ९१, जनमत पार्टीका शुशिला देवी विष्टले १३१, मौलिक जरोकिलो पार्टीका तिलक प्रशाद जोशीले २सय १६, हाम्रो नेपाली पाटीका दुर्थादत्त पाण्डेयले २सय ७८, कांग्रेसकै बागी दिपक सिहले १ हजार, १४३, काँग्रेसकै बागी मदन दमाई २सय ५२, कांग्रेसकै अर्की बागी शारदा देवी चन्दले ७सय ३८ र स्वतन्त्र उम्मेदवार शुभाष सिह धामीले १०५मत पाएका छन्।

कञ्चनपुर ३ मा ९७ हजार, ८ सय २२ मतदातामध्ये ५७ हजार ७५८मत खसेको थियो। मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार ५४ हजार ५९ मत सदर र ३ हजार ६सय ९९मत बदर भएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.