|

बैतडी : बैतडीको मतपरिणाम आउने क्रम जारी छ। प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र रहेकामा मतगणनाको संख्या बढ्दै जाँदा यहाँ प्रतिस्पर्धा रोचक बन्दै गएको हो।  

खास गरेर मतगणनाको अन्तिमतिर पुगेको प्रदेशसभा २ मा रोचक प्रतिस्पर्धा देखिएको छ। यस क्षेत्रमा रहेको दोगडाकेदार गाउँपालिकामा मात्रै मतगणना गर्न बाँकी छ। पालिकामा ८ वडा रहेकोमा ६ वडाको गणना सकिएको छ। अब दुईवटा वडा मात्रै बाँकी छन्। हालसम्म यो प्रदेशको ३५८४७ मत गणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्ट अग्र स्थानमा छन्।

शिवराजले १६६५९ मत प्राप्त गर्दा नेकपा एमालेका लीलाधर भट्टले १५ हजार ८८२ मत ल्याएका छन्। अब यो क्षेत्रमा एक हजार ४३७ मत मात्रै गणना बाँकी छ। 

यस्तै प्रदेशसभा  १ मा नेकपा एमालेका सुरेन्द्र पालले अग्रता कायम गरेका छन्। ३४ हजार ५२५ मत गणना हुँदा पालले ११ हजार ३५ मत ल्याएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले नौ हजार ८८७ मतका साथ दोस्रो र नेपाली कांग्रेसका वीरबहादुर विष्टले आठ हजार ८२८ मतका साथ तेस्रो स्थानमा छन्।

प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी १२ हजार ४४३ मत ल्याएर अग्र स्थानमा छन्। उनलाई नेकपा माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) ले १२ हजार २८८ मतका साथ पछ्याइरहेका छन्। २८ हजार ३२८ मतगणना हुँदा  १५५ मतले भण्डारीले अग्रता लिएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। 

आइतबार सम्पन्न निर्वाचनमा यहाँ रहेका कुल मतदाताको ५२.२२ प्रतिशत मत खसेको थियो। यहाँ एक लाख ५० हजार १५६ मतदाता रहेकामा ७८ हजार ४१६  मत मात्रै खसेका थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.