|

काठमाडौं :  धादिङ- १ बाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे निर्वाचित भएका छन्। झण्डै आठ हजार मतान्तरहित उनी निर्वाचित भएका हुन्। पाण्डेले ३५ हजार नौ सय ३४ मत प्राप्त गरे। निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का भूमिप्रसाद त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरे।

विसं २०१३ जेठ २८ गते धादिङको गजुरी–८ छेपाङमा जन्मिएका पाण्डे २०३२ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन्। पाण्डे विद्यार्थी राजनीतिबाट उदाएका हुन्। तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा उनले एक वर्ष भूमिगत र चार वर्ष छ महिना बन्दी जीवन बिताएका छन्। उनले १० वर्ष आदर्श माध्यमिक विद्यालय, गजुरीमा शिक्षण गरेका थिए।

बुबा स्व. नेत्रराज र आमा स्व. मनमायाका जेठो छोराका रुपमा जन्मिएका पाण्डेले सीता थपलियासँग विवाह गरेका थिए। उनका तीन छोरा छन्। पाण्डेले त्रिभुनव विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर उतीर्ण गरेका छन्।

पाण्डे २०४८, २०५१, २०५६ र २०७० सालको संसदीय निर्वाचनमा धादिङबाट निर्वाचित भएका थिए। विसं २०६४ मा संविधानसभा सदस्यको निर्वाचनमा भने उनी पराजित भएका थिए। विसं २०५१ मा पाण्डे नेकपा (एमाले)को संसदीय दलको सचेतक, २०५३ सालमा प्रमुख सचेतक र २०६३ सालमा स्थानीय विकासमन्त्री बनेका थिए। विसं २०५० मा उनी एमालेको बागमती अञ्चल सचिव र २०५५ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

पाण्डे २०७० सालको संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। विसं २०७४ मा उनी धादिङ निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट बागमती प्रदेशसभामा निर्वाचित भएका थिए।

विसं २०७८ मा उनी बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए। एमालेको विभाजनसँगै उनी नेकपा (एकीकृत समाजवादी)को उपाध्यक्ष छन्।

पाण्डको ‘चीन भ्रमण एक अनुभव अनेक’ कृति प्रकाशित छ। उनले चीन, भारत, बेलायत, फ्रान्स, स्वीटजरल्याण्ड, बेल्जियम, हल्याण्ड, लक्जम्वर्ग, इटली, अमेरिका, भेनेजुएला, ब्राजिल, दक्षिण कोरिया, जापान र अष्ट्रेलियाको भ्रमण गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.